मधेशटप, पुस २० गते, मंगलवार ।

जनकपुरधाम :  जनकपुरमा उत्पतिको प्रमाणपत्र सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र जनकपुर उद्योग वाणिज्य संघले भन्सार विभागको सहकार्यमा जनकपुर सहित धनुषाका उद्योगी व्यवसायिलाई तालिम दिएको हो ।

नेपाल सरकारको भन्सार विभागले उत्पतिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) लाई सिङ्गल विन्डो सिस्टममार्फत अनलाई इन्ट्री गर्ने पहल थालेपछि त्यसको प्रक्रिया र जानकारी सम्बन्धमा तालिमको आयोजना गरिएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । उत्पत्तिको प्रमाणपत्र जारी गर्ने उद्योगीहरुलाई अब देखि अनलाईन मार्फत् जारी गर्ने गरी पहल गर्न र सो सम्बन्धमा निर्यातकर्ता र उद्योग वाणिज्य संघहरुको भूमिका सम्बन्धमा प्राविधिकहरुले प्रशिक्षण दिएका हुन् ।

स्थलगत रुपमै निर्यातकर्ता र जारी गर्ने संस्था उद्योग वाणिज्य संघका सचिवालयका कर्मचारीहरुलाई अनलाईन जारी गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्बन्धमा भंसार विभागका प्राविधिक र नेपाल उद्योग वाणिज्य महासंघका प्राविधिक सम्मिलित टोलीले तालिम एवम् प्रशिक्षण दिएका छन् ।

भन्सार लगायत व्यापार सहजीकरण र अनलाईन उत्पत्तिको प्रमाणपत्र जारी गर्ने विषयमा व्यापारीहरुलाई अभिमुखिकरण गरिएको प्रशिक्षक नेपाल उद्योग वाणिज्य महासंघका मिलन श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले अनलाईन सिओ जारी गर्ने गरी भन्सार विभागले थालेको अभियानलाई सफलीभूत बनाउन जनकपुर उद्योग वाणिज्य संघ अग्रगामी भूमिकामा रहने बताए । दुई दिवसीय तालिमले उद्योग वाणिज्य संघका कर्मचारी र निर्यात कर्ताहरुलाई धेरै सहज भएको र आगामी दिनमा पनि यस सम्बन्धमा तालिम एवम् प्रशिक्षणको आयोजना हुनुपर्नेमा महासेठको जोड दिए ।

कार्य सम्पादनमा लागत तथा झन्झट र सरकार तथा सेवाग्राही दुवै पक्ष सन्तुष्ट नरहने अवस्थालाई निरुपण गर्न यो अनलाईन सिङ्गल विन्डो सिस्टमले कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाउने सहभागीहरुको विश्वास छ । सेवाग्राहीले पनि आफ्नो काम सहजतापूर्वक कम समय र कम लागतमा सम्पादन गर्ने भएकोले यसको महत्व र उपयोगिता आजको परिवर्तित समयमा बढेर गएको धारणा वक्ताहरुको थियो ।

सो अवसरमा जनकपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष अम्भु प्रसाद साह, कोषाध्यक्ष प्रमेश्वर साह, अनिल कुमार मिश्र सहित धनुषाका व्यापारीहरुको उपस्तिथी रहेको  थियो ।