मधेशटप समाचारदाता,

संजित कुमार मंडल, 

महोत्तरी, २३ पुस । तीन साता लामो कठ्याँग्रिदो जाडोपछि महोत्तरीमा घाम लागेपछि जनजीवन सामान्य हुँदै गएको छ ।

पुस महिना लागेदेखि नै जिल्लामा कठ्याँग्रिदो जाडोले मानिस, वस्तुभाऊ, पशुपंक्षी र बालीनाली सबै प्रभावित भएकोमा आज बिहानैदेखि जिल्लाको प्रत्येक क्षेत्रमा घाम लागेपछि यहाँको जनजीवन सामान्य हुँदै गएको छ ।

हिजो (बिहीबार) दिउँसोबाट शुरु भएको घाम आज पुनः एका बिहानैदेखि जिल्ला सदरमुकाम जलेश्वर लगायत जिल्लाको सम्पूणर् भू-भागमा घाम लागेको छ भने घाम लागेपछि जिल्लाबासीहरु हर्षित भएका छन् ।

बाक्लो हुस्सु, शितलहर र निरन्तर बहने हावाले जनजीवन निक्कै कष्टकर बनिसकेको यस क्षेत्रमा घाम झुल्किएपछि मानिस, वस्तुभाऊ, पशुपंक्षी र बालीनाली सबैलाई राहत मिलेको छ ।

दुई दिनदेखि निरन्तर घाम लागेपछि अहिले घरघरबाट निस्केर स्थानिय वृद्धवृद्धा, बालबालिका तथा वयस्कहरु समेतले आ आफ्नो जीऊ न्यानो पार्न थालेका छन् ।

त्यस्तै गृहणी महिलाहरु पनि घाम लागेपछि सातादेखिको फोहर र मैलो भएका लुगाफाटाहरु धोएर सुकाउने जोरजाम गरिरहेका देखिन्छन् ।

त्यस्तै लागातारको जाडोबाट ग्रसित भएका जिल्लाका गाई, भैंसी, बाख्राबाख्री लगायतका वस्तु भाऊहरुलाई पनि किसानहरुले घाममा राखेर न्यानो बनाउनमा व्यस्त देखिएका छन् ।

तीन सातादेखि जाडोकै कारण कामकाज छोडी घरभित्रै सिमित भएका जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका किसानहरु पनि अहिले आ-आफ्ना खेतबारीमा पुगेका छन् ।

त्यस्तै घाम लागेपछि जिल्लाको हाटबजारमा पनि मानिसहरुको चहलपहल बढेको छ भने यातायातका साधनहरु पनि बाक्लै रुपमा गुडन थालेको देखिएको छ ।

मुख्य रुपमा कठ्याँग्रिदो जाडोबाट बालबालिका, वृद्धवृद्धा, गरीब असहाय, माँगीखाने र सडकमा रात बिताउनेहरु प्रभावित भएकोमा उनीहरुलाई पारिलो घामले निक्कै खुशी तुल्याएको छ भने अन्य सर्व साधारण जिल्लाबासीहरु पनि खुशी भएका छन् ।