सिरहा । किसान आन्दोलन गरिरहेका जनमत पार्टीले माघ ३० गते मधेसका सबै जिल्लामा महारैली गर्ने घोषणा गरेको छ ।

सिरहा सदरमुकाममा हुने महारैलीको सम्बोधन भने जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा। सीके राउत गर्ने बुझिएको छ । महारैलीमा सहभागी हुन जनमत पार्टी सिरहाले प्रसार प्रसारमा केन्द्रीत भएको हो । मधेसका अन्य जिल्लामा पनि महारैलीको तयारी भइरहेको जनमतका नेताहरु बताउँछन् ।

किसानलाई समयमा सहज रुपले मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था वा विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन जारी राखेको छ ।

सिरहाको औरहीबाट सुरु भएको किसान आन्दोलन अहिले देशभर फैलिएको छ । काठमाडौंमा समेत जनमतका समर्थक र किसानहरु पटक पटक प्रदर्शन गरेका छन् । तर किसानको माग सरकार सम्बोधन गर्न सकारात्मक देखिएको छैन ।