जनकपुरधाम, ३ माघ ।प्रदेश २ का अर्थमन्त्री एवम् प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद साहले प्रदेश २ को नामकरण ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ मा मतदान गर्न प्रदेशसभा सदस्यहरूलाई आग्रह गरेका छन् ।

प्रदेशका नाम र राजधानी टुंगो लगाउन प्रदेशसभा २ मा सोमबार हुने मतदानअघि मन्त्री साहले विज्ञप्ति जारी गर्दै मधेस विद्रोहका पृष्ठभूमि, जनविद्रोहबाट प्रतिबिम्बित जनचाहना र सार्वजनीन आवश्यक्ताका सिद्धान्त तथा व्यवहारका आधारमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम हुनुपर्ने सो आग्रह गरेका हुन् ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका नेतासमेत रहेका मन्त्री साहले बहुविध भाषिक र सांस्कृतिक समुदायलाई सम्बोधन गर्ने मधेस शब्दको स्वीकार्यताले पहिचान र अधिकारप्राप्तिको लडाइलाई अझ सशक्त बनाउन प्रदेशको नाम मधेस र राजधानी जनकपुरधामले प्रेरणा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले प्रदेशका नाम र राजधानीप्रति प्रदेशवासीको स्वामित्व, अपनत्व र ममत्व अभिव्यक्त हुने ऐतिहासिक र दुरगामी प्रभावका दृष्टिले आजका दिन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै संवैधानिक प्रावधान र जनादेशअनुरूप प्रदेशको नाम र राजधानी निर्धारण गर्ने कामका लागि प्रदेशसभा सदस्यहरूले निरन्तर प्रयत्न गरेको विज्ञप्तिमा जनाएका छन् ।

उनले संवाद, समन्वय र सहमति र त्यसो नहुँदा असहमतिलाई सहमतिमा रूपान्तरण गर्ने सर्वोत्कृष्ट लोकतान्त्रिक विधि मतदानबाट प्रदेशको नामकरण र राजधानीका विषयमा निचोडमा पुग्ने बेलामा जनसङ्घर्षको लामो श्रृंखलाबाट स्थापित प्रादेशिक राजनीतिक सत्तालाई मजबुत र दिगो बनाउन हामीले विवाद, विमति र मनोमालिन्यबाट माथि उठेर जनआकांक्षालाई सम्बोधन गर्न समेत प्रदेशसभा सदस्यहरूको ध्यानाकृष्ट गराएका छन् ।

उनले संवाद, समन्वय र सहमति र त्यसो नहुँदा असहमतिलाई सहमतिमा रूपान्तरण गर्ने सर्वोत्कृष्ट लोकतान्त्रिक विधि मतदानबाट प्रदेशको नामकरण र राजधानीका विषयमा निचोडमा पुग्ने बेलामा जनसङ्घर्षको लामो श्रृंखलाबाट स्थापित प्रादेशिक राजनीतिक सत्तालाई मजबुत र दिगो बनाउन हामीले विवाद, विमति र मनोमालिन्यबाट माथि उठेर जनआकांक्षालाई सम्बोधन गर्न समेत प्रदेशसभा सदस्यहरूको ध्यानाकृष्ट गराएका छन् ।

उनले लेखेका छन्, ‘प्रदेशको नामकरण र राजधानी तय गर्ने कुरा सही अर्थमा एउटा कठिन र कष्टसाध्य काम हो । तर, पहिलो प्रदेशसभाका सदस्य भएका नाताले यी जिम्मेवारी पुरा गर्ने दायित्व निर्वहन गर्दा भविष्यमा प्रादेशिक सत्ता र समृद्धिका लागि सुन्दर बाटो प्रशस्त गर्नेछ ।’

मन्त्री साहले सोमबारको मतदानबाट प्रदेशको नाम र राजधानी तय भए इतिहासका पानामा प्रदेशसभा सदस्यका काम सुनौला अक्षरले लेखिने भनेका छन् ।

जसपा नेता साहले अधुरो, अपुरो, त्रुटिपूर्ण र विभेदकारी संविधानबाट प्राप्त सङ्घीय संरचनाअन्तर्गत प्रादेशिक सत्ता अभ्यास गरिरहँदा स्वायत्तता र स्वशासन नै निषेधित हुनेगरी अघि बढ्न बाध्य हुनुपरेको कठोर यथार्थबारे अवगत नै रहेको बताउँदै विज्ञप्तिमा संविधान निर्माणका स्रोत र आधारहरूलाई उपेक्षा गर्दै जनअभिमतविपरीत संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली, नागरिक्ताजस्ता कुराहरूलाई वस्तुपरक ढंगले सम्बोधन नगरिएको गुनासो समेत प्रकट गरेका छन् ।

तर उनले लोकतान्त्रिक विधि एवम् प्रक्रियाबाटै संशोधन तथा परिमार्जन गराई संविधानलाई पूर्णता दिने कुरामा जनता समाजवादी पार्टी(जसपा) नेपाल प्रतिबद्ध रहँदै आएको थप्दै पार्टीको त्यस दृष्टिकोणप्रति देशका विभिन्न राजनीतिक शक्तिहरूले विभिन्न सम्झौता र समझदारी गर्दै आफ्ना सहमति व्यक्त गरिसकेकालाई सकारात्मक रूपमा अथ्र्याएका छन् ।

प्रदेशका सातवटा संरचनाप्रति जसपा नेपालको विमति रहेको प्रस्ट्याउँदै नेता साहले ऐतिहासिक मधेस जनविद्रोहबाट प्राप्त संघीयतालाई संस्थागत र सुदृढ गर्ने कुरामा आफूहरूले निकै सजगता अपनाएकोमा जोड दिँदै प्रदेशको नामकरण र राजधानीका विषयमा आएका प्रस्ताव र ती प्रस्तावउपर भएका छलफल प्रदेशसभाको सर्वोच्चता र विशिष्ठ्ताको एउटा अविस्मरणीय अध्याय बन्ने औंल्याएका छन् ।