मधेशटप डेस्क, माघ ३ गते।

जनकपुरधाम। प्रदेश सभामा भएको मतदानमा राजधानी जनकपुरधाम राख्नुपर्ने प्रस्तावको पक्षमा दुई तिहाइभन्दा बढी मत परेकाले प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे।

मतदानमा ९९ सांसद सहभागी थिए। जनकपुरधाम राजधानी राख्नुपर्ने प्रस्तावको पक्षमा ७८ जना सांसदले मत दिएका छन्।

प्रदेश सभा सदस्यहरू परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहको तर्फबाट राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व-पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेका थिए।

त्यसमा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत पुगेपछि पारित भएको हो।

यससँगै अन्य राजधानी वीरगञ्ज हुनुपर्ने दुई वटा प्रस्ताव पनि दर्ता भएका थिए। पहिलो प्रस्ताव पारित भएपछि अन्य दुई प्रस्ताव स्वतः खारेज भएको सभामुख यादवले घोषणा गरेका थिए।

अब यसपछि आजै प्रदेश २ को नामकरणका लागि प्रदेश सभा बैठकमा मतदान हुने भएको छ। त्यसको तयारीका लागि प्रदेश सभाको बैठक दुई घण्टा स्थगित गरिएको छ।