जनकपुरधाम : मधेश प्रदेशमा  राष्ट्रिय सभा निर्वाचनको क्रममा बुधबार जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको अराजक क्रियाकलाप घटनाको छानविन गर्न मधेश सरकारले निर्देशन दिएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र पीडितलाई क्षतिपुर्ति एवम् दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

बुधबार जमत पार्टीका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका जनप्रतिनिधिको ७ वटा गाडीमा तोडफोड गरेका छन् ।

आक्रमणमा  प्रदेश सांसद अशोक यादव, जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश कुमार साह, हरिवनका मेयर गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल घाइते भएका छन् ।

‘पूर्व घोषित विरोधका कार्यक्रमहरु नरहेको अवस्थामा पनि प्रदेश सभा सदस्य माननीय अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा। सतिश साह लगायतका व्यक्तिहरूमाथि गरिएको साङ्घातिक आक्रमण एवम् सवारी साधनमा गरिएको तोडफोड घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कार्वाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित गर्दछ’ प्रदेश सरकारको विज्ञप्तिमा भनिएको छ।

साथै, लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्वद्ध सबैमा प्रदेश सरकारले आग्रह गरेको छ।