नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले नेपाल यो वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन्। तर उनले प्रतियोगितामा छनोट हुन सजिलो भने नभएको बताए।

सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा पुबुदुले चार टिमको समूहबाट विश्वकपमा छनोट हुनका लागि हरेक खेल राम्रो खेल्नु पर्ने बताए।

आगामी महिना ओमानमा हुने विश्वकप छनोटमा नेपालले सुरुमा चार टिम सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

चार टिमसँग खेल्दा सधैं गाह्रो हुने उनले बताए। त्यसैले नेपालले विश्वकप छनोटमा हरेक खेलमा राम्रो खेल्नु पर्ने पुबुदुको भनाइ छ।

विश्वकपमा छनोट भएमा एकदिवसीय प्रतियोगिताका लागि पनि फाइदा हुने उनले बताए। ‘विश्वकपमा प्रतिस्पर्धा गर्दा हामीले बढि अभ्यास गर्छौं, टिमहरूसँग प्रतिस्पर्धा गर्छौं जसले एकदिवसीय प्रतियोगितालाई पनि फाइदा पुग्छ,’ उनले भने।

नेपाललाई दोस्रो पटक विश्वकपमा छनोट गराउनु आफ्नो लागि महत्वपूर्ण काम भएको र त्यसका लागि आफ्नो शतप्रतिशत दिने उनको भनाइ छ।

साथै नेपाली टिममा प्रतिभाशाली युवा खेलाडी भएकाले नेपाली टिमको टी-२० मा राम्रो भविष्य रहेको बताए।

उनले पछिल्लो समय बलिङ  क्षेत्रमा पनि सुधार ल्याएको बताउँदै सबैलाई आश्चर्यमा पार्ने बताए।

कप्तान सन्दीप लामिछानेले सबै खेलाडीसँग नियमित सम्पर्क भइरहेको बताए।

कोरोना संक्रमित भएपछि हाल आइसोलेसनमा बसेका सन्दीपले टिमका हरेक खेलाडीको कुरा सुनेर अघि बढ्ने बताए।

सिनियर खेलाडीको अनुभव टिमका लागि फाइदा भएको उनको भनाइ छ।

उनले विश्वकप छनोट आफूसहित सबै खेलाडीका लागि महत्वपूर्ण भएको बताए।

‘मलाई टिमको नेतृत्व गर्ने अवसर छ। अरु खेलाडीका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण छ। हामीलाई जसरी हुन्छ विश्वकपमा छनोट हुनुछ,’ सन्दीपले भने।

टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिता आगामी फागुन ६ गतेदेखि ओमानमा हुँदैछ।

समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम रहेका छन्।

समूह ‘ए’ लाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ।

समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छ्न्।

समूह १ र  २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

नेपालको खेल 
नेपाल भर्सेस ओमान –  ओमान एकेडेमी १-  फागुन ६

नेपाल भर्सेस फिलिपिन्स –  ओमान एकेडेमी  २-  फागुन ७

नेपाल भर्सेस क्यानडा –  ओमान एकेडेमी १ – फागुन ९

सेमिफाइनल १ र २ – ओमान एकेडेमी २-१ –  फागुन १०

फाइनल –  ओमान एकेडेमी १ – फागुन १२

नेपालले विश्व छनोटअघि चार देशसम्मितिल टी-२० सिरिज खेल्नेछ। ओमानमा हुने सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टिमबीच प्रतिस्पर्धा हुनेछ।

विश्वकपअघि नेपालले तयारीस्वरुप सिरिज खेल्न लागेको हो। सिरिज माघ २८ सुरु भएर फागुन २ मा सकिनेछ। नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र  तेस्रो खेल फागुन २ मा  आयरल्यान्डसँग खेल्नेछ।

हाल नेपाली टिमले स्वदेशमै अन्तिम तयारी गरिरहेको छ। नेपाल माघ २६ मा ओमान जाने कार्यक्रम रहेको छ।

नेपाली टिम

सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम।