काठमाडौं । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मौरिससमाथि जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा सिमित मौरिससमाथि १-०को जित निकालेको हो ।

नेपालको जितमा सुजल श्रेष्ठले एकमात्र निर्णायक गोल गरे । खेलको १०औं मिनेटमा पूजन उपरकोटिले बक्स भित्रबाट गरेको ब्याक फ्लिकलाई सुजलले वान टचमै गोल गरेका हुन् । सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए । यो उनको राष्ट्रका लागि तेस्रो गोल समेत हो ।

खेलको १२औँ मिनेटमा नै मौरिससले खेल बराबरी गर्ने अवसर पाएको थियो । पेनाल्टी बक्समा दिनेश राजवंशीले कप्तान एन्डी सोफीलाई फउल गर्न पुगेपछि रेफ्री नविन्द्र महर्जनले मौरिससलाई पेनाल्टी प्रदान गरेको थियो । तर कप्तान एन्डी सोफीले प्रहार गरेकाे पेनाल्टीलाई नेपाली गोलरक्षक किरण चेमजोंगले बचाउन सफल भए ।

मैत्रीपूर्ण भएपनि खेलको दोस्रो हाफमा निकै तनावपूर्ण स्थिती पैदा भयाे । नेपालका एक जना खेलाडी र एक अफिसियलले रातो कार्ड पाउँदा मौरिससका २ खेलाडी रातो कार्डका कारण मैदान छाडेका थिए ।

७१औं मिनेटमा हात हालाहालमा उत्रिएपछि नेपालका पुजन उपरकोटी र माैरिससका एड्रियन बोटलरले रातो कार्डको दर्शन गरे । यसै बेला रेफ्री नबिन्द्र महर्जनले  नेपालका गोलकिपर प्रशिक्षक विकाश मल्ललाई समेत रातो कार्ड दर्साए ।

७९औं मिनेटमा इम्यानुयल फुलचुन्डले दोस्रो पहेलो कार्डपछि रातो कार्डको दर्शन गरे ।  खेलमा खेलाडीमाथि पहेँलो कार्डको पनि वर्षा भएको थियो ।

खेलमा अफ्रिकन राष्ट्र मौरिसस शारीरिक रुपमा बलियो देखिएको थियो । सोहीअनुसार उसले राम्रा मौकासमेत सृजना गरेको थियो । यद्यपि मौरिसस फिनिसिङमा चुकेको थियो । नेपालले पनि पाएका केही सुन्दर माैका सदुपयाेग गर्न सकेन । खेलमा थपिएको इञ्युरी समय रंगशालाको लाइट कम भएका कारण  करिब १० मिनेट अवरुद्ध बनेको थियो ।

आजकाे खेलमा प्लेइङ सेटमा खेल्दै नवीन गुरुङले डेब्यु गरे । जारी लिगमा एन आर टी क्लबबाट खेलिरहेका राइट ब्याक नबिन पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । नेपालले पहिलो खेलमा १–० को जित निकालेको थियो । उक्त खेलमा विम घर्तीमगरले गोल गरेका थिए ।