मकवानपुर । मकवानपुरका एक युवक अवैध सुन र मोबाइलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ७ बस्ने २८ वर्षीय नवराज परियार रहेका छन् । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट बिहीबार पक्राउ गरेको हो ।

प्रहरीले उनीसहित गौर नगरपालकिा–१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पालाई पनि पक्राउ गरेको छ । हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित पक्राउ गरेको हो ।

प्रहरीले साहको साथबाट चार वटा आइफोन १३ प्रो म्याक्स तथा एक–एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एक वटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ । यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।