मधेशटप, माघ २९ गते ।

भक्तपुर ; स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आईसीयू सेवा आइतबारदेखि सुरु हुने भएको छ ।

अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालमा पहिलोपटक बच्चाका लागि भेन्टिलेटर सहितको एन आईसीयू सञ्चालनमा ल्याउन सफल भएको   र ‘प्रसूति सेवा राम्रो रहेको भक्तपुर अस्पतालमा बच्चाको आईसीयू नहुँदा बेला बेलामा समस्या हुने गरेको थियो, अब त्यसको अन्त्य भएको छ, २० शय्याको एनआईसीयु सञ्चालनको तयारी पूरा भएको छ.’।

फागुन १ गतेदेखि बच्चाका लागि १० शय्या र १८ वर्षभन्दामुनिकाका लागि १० शय्याको भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा आउने गौतमले जानकारी दिइन् । आवश्यक सबै तयारी पूरा गरेर जनशक्तिसमेत परिचालन गरिएको छ ।

मेसु डा गौतमका अनुसार भेन्टिलेटरसहितको ६ शय्याको आईसीयू कोरोना संक्रमितका लागि प्रयोग भइरहेको छ भने भेन्टिलेटर सहितको १० शय्याको आईसीयू अरु बिरामीका लागि प्रयोग भइरहेको छ ।

आइतबारदेखि बच्चाको २० शय्याको आईसीयू सुरु भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटरसहितको ३६ शय्याको आईसियु सञ्चालन हुनेछ । डा गौतमले भनिन्, ‘भक्तपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले अब आईसीयू छैन, डाक्टर छैनन्, सुविधा छैन भनेर अन्यत्र जानु पर्दैन, भक्तपुर अस्पताल बिरामीलाई नि:शुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्षम भएको छ ।’

भक्तपुर अस्पतालको सबै वार्डमा अक्सिजन फाइप जडान गरी वितरण सुरु गरेसँगै सिलिण्डर घिसार्दै बेडमा लैजानुपर्ने समस्याको पनि अन्त्य भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीले अल्जाइमरका रोगी बढेपछि अस्पतालले नि:शुल्क अल्जाइमर क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ ।

अस्पतालले मनोरोग विशेषज्ञ सहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको हो ।अस्पतालमा बिरामीको बढ्दो चाप र सेवा विस्तारका कारण भवन अभाव भइरहेको अवस्थामा साझा औषधि लिमिटेडले ओगटेको भवन नछाड्दा नयाँ निर्माण गर्न सकिएको छैन ।

साझालाई भवन छाड्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेको अस्पतालले जनाएको छ ।