मधेशटप समाचारदाता,

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकासमूखी कार्यक्रम भएको बताउँछन्।

अमेरिकाले यो कुनै सैन्य रणनीति अन्तर्गत नभएको जवाफ दिइसकेकाले यसमा शंका गर्नुनपर्ने उनको धारणा छ। एमसीसी अन्तर्गत ५० करोड डलर अनुदान आउँदा विरोध गर्नेहरूले चीनले बीआरआई अन्तर्गत दिन लागेको ऋणबारे भने एक शब्द नबोल्नु अनौठो भएको बताउँछन्। लोसपा अध्यक्ष ठाकुरसँग हिमालखबरका लागि वीरेन्द्र रमणले गरेको संक्षिप्त कुराकानीः

एमसीसीको यत्रो विरोध र समर्थन भइरहँदा यहाँहरू मौन किन?

ऋण वा कर्जा नै नआइरहेको अवस्थामा एमसीसीको अनुदान आउनु राम्रो कुरा हो। हामी एमसीसीको विरोधमा छैनौं।

गरिबी न्यूनीकरणका लागि सडक सञ्जाल विस्तार र विद्युतीकरणको आवश्यकता रहेको विज्ञहरूले औंल्याउँदै आएका छन्। एमसीसी अनुदानको रकम प्रसारण लाइन निर्माण र सडकको अवस्था सुधार गर्नमा लगानी हुन्छ।

विद्युतीकरणमा सबल बन्दै नेपाल बिक्री गर्ने अवस्थामा पुगेको छ। भारत हाम्रो विद्युत बिक्रीको केन्द्र समेत रहेको छ। भारतसँग विद्युत आदनप्रदान समेत भइरहेको छ। विद्युत धेरै उत्पादन गरेर बेच्न सक्यौं भने नेपालको समृद्धिमा नै बल पुग्ने हो।

एमसीसीको विरोधी गर्नेहरूले त नेपालले यो अनुदान लियो भने अमेरिकी सेना आउँछ भनेका छन् नि?

एमसीसी विशुद्ध विकासमुखि कार्यक्रम हो। एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत छैन र सेना पनि आउने होइन भनेर प्रष्ट गरिसकेको पनि छ। कुनै सैनिक संगठनसँग यसको सम्बन्ध छैन।