जनकपुरधाम : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली नेतृत्वको सरकारलाई ढालेर देशमा राजनीतिक अस्थिरता उत्पन्न गरिएको बताएका छन् ।

मंगलबार प्रेस चौतारी नेपाल धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई कमजोर बनाउने गठबन्धनकारी शक्ति  एक मात्र उद्देश्य रहेको जिकिर गरे ।

 

उनले एमसिसी टेबुल गर्ने विषयमा विभिन्न नाटक हुने दाबी गरेका छन् । उनले भने,‘एमसिसी टेबुल गर्ने सन्दर्भमा बुधबार थुप्रै नाटकहरु हुन्छन् । त्यो हेर्नुहोला ।’

एमालेले उत्तेजना र आवेशमा आएर केही नगर्ने दाबी गर्दै उनले भने, ‘सोच विचार गरेर फायर मिस नहुने गरी हामी फायर खोल्छौँ । कुन बेला के कदम चाल्नुपर्छ त्यसका लागि हामी तयार छौँ ।’

एमालेले राष्ट्रिय राजनीतिलाई गलत दिशातर्फ जान नदिने उल्लेख गर्दै उनले थपे,‘स्थानीय तहको निर्वाचनलाई पर सार्ने खेलअन्तर्गत महाअभियोगको नाटक रचिएको छ । तर, यो निर्वाचनलाई हामी कुनै पनि हालतमा पर सार्न दिदैनौँ ।’

राष्ट्रिय राजनीतिलाई अस्थिर बनाउने काम भइरहेको टिप्पणी गर्दै पोखरेलले भने,‘देश बनाउने सपनालाई चकनाचुर गरिएको छ । आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान तथा स्वतन्त्रता, सामाजिक सद्भावका कुराहरु नेकपा एमालेले विगतदेखि नै उठाउँदै आएको छ ।

 

एमालेको विरुद्धमा असैद्धान्तिक गठबन्धन गरिएको उनले दाबी गरे । गठबन्धनभित्रै अहिले विभिन्न विचारधाराका व्यक्तिहरु रहेकोले गठबन्धन नटिक्ने दाबी समेत उनले गरे । गठबन्धन राजनीतिक स्थायित्व तथा आर्थिक विकास र समृद्धिको बाधक रहेको नेता  पोखरेलको आरोप छ ।

नेता पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाको टाउकोमाथि झुण्डिएको तरबार राखिएको टिप्पणीसमेत गरे ।