मधेशटप, फागुन ४ गते 

जनकपुर, जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडानको तयारी गरिइएको छ ।आगामी फागुन १७ गते महाशिवरात्रि अर्थात् अङ्ग्रेजी तारिखको मार्च १ देखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाई उडान हुने भएको नागरिक उड्डयन कार्यालय जनकपुरधामले जनाएको छ ।

निजी क्षेत्रका वायु सेवा बुद्ध एयरले जनकपुरधामबाट पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ आजबाट सुरु गरेको बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले जानकारी दिनुभयो ।

अहिले पोखरा जानेहरूले अग्रिम टिकट बुकिङ गर्न सुरु भएको हो ।सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरका स्टेसन म्यानेजर सिंहले जानकारी दिनुभयो ।

अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार जनकपुरधाम र पोखराका लागि उडान हुने भएको छ । जनकपुरधाममा आउने पर्यटकहरू अब हवाईमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाई यात्रा गरेर आउन र जान पाउने भएका छन् ।

यसले गर्दा दुवै ठाउँको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । केही महिना अगाडि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरी गएको बेलामा दुई पर्यटकीय सहरका बीचमा सिधा हवाई उडान सेवा सुरु गर्ने लिखित सहमति गर्नुभएको थियो ।

खास गरेर मधेस प्रदेशको राजधानी, धार्मिक एवं सांस्कृतिक नगरी जनकपुरधामबाट प्राकृतिक रुपमा सुन्दर पर्यटकीय नगरी एवम् गण्डकी प्रदेशका राजधानी पोखराका बीचमा हवाई सेवा सुचारु भएपछि पर्यटकलाई पनि लाभ पुग्ने भएको छ ।

जनकपुरधामबाट पोखरा जाने यात्रीले कम्तीमा पनि ८ घण्टाभन्दा बढी समय लगाएर जाने गरेका थिए । खास गरेर जनकपुरधाममा अत्यधिक मात्रामा भारतीय पर्यटकहरू आउने गरेको छन् भने पोखरामा भारतीयसहित अन्य देशका पर्यटकहरू पनि आउने भएका छन् ।

यसैबीच जनकपुरधामबाट पोखराको हवाई सेवा सुरु हुने भएपछि जनकपुरधामका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।