जनकपुरधाम : जनकपुरधामस्थित भानु चोकमा मारवाडी समुदायको कुलदेवी रानीसत्ति माताको मन्दिर छ ।

यो मन्दिरको विषयको अधिकांश जनकपुरधामवासीलाई थाहा नहुन सक्छ । सो मन्दिरलाई लिएर दशकौँदेखि मारवाडी समुदाय भित्रै विवाद रहँदै आएको छ ।

मन्दिरको अधिकारको विषयलाई लिएर अहिले पनि मुद्दा मामिला चलिरहेको छ ।

मारवाडी समुदायकै एक जना राजेश जलान विद्रोहीले सो मन्दिर सार्वजनिक हुनु पर्ने माग अगाडी बढाएका छन् ।

विद्रोहीले आफ्नो बाजे शिवशंकर जलानले मन्दिर र श्रद्धालुहरुको वासका लागि यात्री निवास बनाउनका लागि १५ धूर जग्गा छुट्याएका थिए । जसमा उनका छोराहरु मधुसुदन जलान, सीताराम जलान, आनन्द जलान र प्रभु जलान कसैले पनि उपभोग नगर्न भनेको विद्रोहीले भने ।

त्यसपछि लगभग ३ दशक अगाडी त्यहाँ मन्दिरका साथै भौतिक संरचना निर्माण भएको बताए । त्यसपछि प्रभु जलानले मन्दिर सहित सो जग्गा नै कब्जा गरेको उनले आरोप लगाए । विद्रोहीका अनुसार सो मन्दिरलाई ट्रष्ट बनाउने आन्तरिक सहमति भएको तर मारवाडी समुदायमा भएको आन्तरिक सहमतिको सो पत्र समेत लुकाइएको उनले आरोप लगाए । सो सहमतिलाई लत्याउँदै प्रभु जलानले मन्दिर सहित जग्गा कब्जा गर्दै त्यहाँ २०५५ सालदेखि जलान वस्त्रालय नामक पसल संचालन गर्दै आईरहेको उनको आरोप छ ।

यता प्रभु जलानले सम्पूर्ण आरोपहरु निराधार रहेको दावी गरेका छन् । उनले व्यक्तिगत हाम्रो मन्दिर रहेको र यो कुलदेवी रहेकोले व्यक्तिगत रुपमा प्रयोग गर्दै आईरहेको बताए । प्रभुले मन्दिरमा पूजापाठ गर्नका लागि कसैलाई रोक नलगाइएको बताए ।

यसका साथै विद्रोहीले सो मन्दिरको जग्गाको छेउमै रहेको नाला समेत प्रभुले कब्जा गरेको आरोप लगाएका छन् । उनले ३ फिट ६ इन्चको सो नालामा स्लैव ढलान गरेर नालाको जग्गा समेत कब्जा गरि सकेको दावी गरे ।

सो नालामा निर्माण गरिएका भौतिक संरचना बिरुद्ध विद्रोहीले जनकपुरधाम उपमहानगरपालिकामा निवेदन समेत दिएका छन् ।-खोज केन्द्र बाट