मधेशटप डेस्क, फागुन ८ गते ।

जनकपुरधाम। मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले वित्तीय संस्थाहरूको पहुँच साना निक्षेपकर्ता तथा ऋणीहरूसम्म भएकाले आर्थिक रूपमा समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडको क्षेत्रीय कार्यालयको जनकपुरधाममा आइतबार उद्घाटन गर्दै मन्त्री साहले कानुनी रूपमा बैंक तथा वित्तीय संस्थामा भिन्नता नभएको भन्दै साना तर धेरै सँख्यामा निक्षेपकर्ता भएकाले वित्तीय संस्थाको जोखिम कम हुने बताए ।

मन्त्री साहले भने, ‘ठूला बैंकका ठूला निक्षेपकर्ता रकम झिकेपछि सन्तुलन मिलाउन नसक्दा पूँजी, कर्जा तथा निक्षेप अनुपातमा असर गर्ने भए पनि वित्तीय संस्थालाई यस्ता समस्या कमैमात्र भोग्नुपर्ने फाइनान्सको सकारात्मक पक्ष हो ।’

उनले पछिल्लो समयमा बैंकहरूमा कर्जायोग्य पुँजीको अभाव भए पनि फाइनान्स कम्पनीहरू सहज अवस्थामा रहनु सुखद पक्ष भएको औंल्याउँदै वित्तीय संस्थाहरूले कर्जा लगानी गर्नको क्षेत्रमा जोड दिनुपर्ने बताए ।

त्यसका लागि तपाईंहरु आफैं स्वतः विश्लेषण गरेर अघि बढ्नुपर्छ । मन्त्री साहले नयाँ निक्षेप सिर्जना गर्नेतिर लाग्नुपर्ने उल्लेख गर्दै ब्याजदर बढाएर निक्षेप बढाउनुभन्दा पनि ग्राहकलाई दिने अन्य सेवासुविधा बढाउनुपर्नेमा जोड दिए ।