मधेशटप, फागुन ९ गते।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले तयारी थालेको छ । कार्यालय अहिले मतदाता नामावलीको अध्यावधिकमा जुटेको छ ।

कार्यालयले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको परिचयपत्र सहितको नामावलीको अन्तिम टुङ्गो लगाउने छ ।

यही फागुन १९ गतेसम्म जिल्लाका दश पालिकाका ८१ वडाका मतदाता नामावली प्रकाशित गरी सूचना पाटीमा टाँस गर्ने, वडा–वडाबाट फागुन २० देखि २२ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेको गल्ती सच्चाउन सिफारिस पठाउने निर्वाचन कार्यालयले जनाएको छ ।

फागुन २३ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेका व्यक्तिको बसाइँसराइ, मृत्यु भएमा वा नेपाली नागरिकता त्याग गरेको भए हटाउन जिल्ला निर्वाचन कार्यालयमा वडाबाट सिफारिस गर्ने, मतदाता नामावलीविरुद्ध उजुरी परेका व्यक्तिलाई २४ गतेसम्म प्रमाणसहित सफाइको मौका दिने बताइएको छ ।