ट्राफिक प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी साधन चलाउने चालकलाई तत्काल कारबाही गर्न पाउने भएको छ।

यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाउने चालकलाई कारबाही गर्न मोबाइल एप्समार्फत तत्कालै जाँच गर्न मिल्ने गरी प्रविधिको विकास गरेसँगै त्यस्ता चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको हो।

विभागले निर्माण गरेको उक्त एप्स सोमबार विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई हस्तान्तरण गरे।

कार्यक्रममा महानिर्देशक घिमिरेले एक वर्षे परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्युआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्याउन सक्ने बताए।

‘एक वर्षे परीक्षणकालको अवधिमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गरेको रेकर्ड देखिए उक्त लाइसेन्स खारेजसमेत गर्न सक्ने प्रावधान रहेको छ’, उनले भने।

महाशाखाका प्रमुख जोशीले यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स जाँचका लागि यातायात कार्यालयमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था उक्त एप्स निर्माणसँगै अन्त्य भएको बताए।

नक्कली लाइसेन्स बोकेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको उनको भनाइ थियो। उनले कोही कसैले नक्कली लाइसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानूनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने बताए।