मधेशटप, फागुन १० गते।

सोमबार आठ लाख ७३ हजार भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सोमबार देशभर आठ लाख ७३ हजार ४३८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन्।

योसँगै खोप अभियान सुरु भएदेखि अहिलसम्म तीन करोड ७७ लाख ५५ हजार ४२७ मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ।

जसमध्ये एक करोड ८३ लाख ६५ हजार ६५२ जनाले एक मात्रा र एक करोड ८४ लाख ९७ हजार ६८९ जनाले पूर्णमात्रा र नौ लाख छ हजार ५३३ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्।

कुल जनसंख्याको ७३।२ प्रतिशत अर्थात दुई करोड १३ लाख ७१ हजार ७४२ जनाले एकमात्रा र ६३।४ प्रतिशत अर्थात एक करोड ८४ लाख ९७ हजार ६८९ जनाले पूर्णमात्रा खोप लगाएका छन् ।

त्यस्तै १८ वर्षमाथीका लक्षित जनसंख्याको ९०।८ प्रतिशत अर्थात एक करोड ८० लाख ८५ हजार ५३९ जनाले एक मात्रा र ८१ प्रतिशत अर्थात एक करोड ६१ लाख ३७ हजार ९३० जनाले पूर्ण मात्रा खोप लगाएका छन्।नेपालमा भेरोसेल, कोभिसिल्ड, एस्ट्रजेनिका, मोडर्ना, फाइजर र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ।

हालसम्म नेपालमा विभिन्न माध्यमबाट चार करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप आएको छ।