मधेशटप, फागुन ११ गते।

महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन् ।कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग छालासम्बन्धी रोग को समस्या देखिएको हो ।

महोत्तरीमा कारागारको क्षमताभन्दा बढी कैदी–थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेको छ । सानो ठाउँमा कोच्चिएर बस्नुपर्ने र कैदी–थुनुवा कक्षमा फोहर बढेपछि चर्मरोगको समस्या बढेको कैदीहरु बताउँछन्।

जिउभरि खटिरा देखाउँदै एक थुनुवाले भने, ‘कारागारमा मान्छे थपिएको थपियै छन्, नियमित सरसफाइ छैन।’

एक सय ३५ कैदी–थुनुवा राख्न मिल्ने क्षमताको कारागारमा अहिले १९४ कैदी र ३७६ थुनुवा छन् ।

पुरुष र महिलाको छुट्टाछुट्टै कक्षा छ। पुरुष कक्षमा १७९ कैदी र ३४६ थुनुवा छन् । महिला कक्षमा १५ कैदी र ३२ थुनुवा रहेका जेलर अशोककुमार क्षेत्रीले जानकारी दिएका छन ।

महिला कक्षमा आमाका साथमा रहेका पाँच वर्षमुनिका ६ बालक र तीन बालिका छन् । दिनहुँ बढ्ने कैदी–थुनुवाको चापले सबैको ठिक समयमा स्वास्थ्य जाँच, नियमित उपचार र आवश्यक स्याहार गर्न नसकिएको क्षेत्री बताउँछन्।

‘हामी कैदीबन्दीको स्वास्थ्य समस्याप्रति संवेदनशील नभएको होइन’, उनले भने, ‘कारागारमा पर्याप्त जनशक्ति छैन। यससँगै नियमित सरसफाइको पाटो पनि चर्मरोग बढ्नुको मुख्य कारण हो ।’

भित्रको सरसफाइमा कैदी–थुनुवाले पनि ध्यान दिन नसकेको उनले बताए। कारागारमा श्वासप्रश्वास, मधुमेह, रक्तचाप र पेटसम्बन्धी समस्याका बिरामी पनि छन् ।

छाला चिलाउने समस्या अधिकांश कैदी–थुनुवामा देखिएको छ ।छालासम्बन्धी उपचार शिविर सञ्चालन गर्न कैदी–थुनुवाले माग गरेका छन् ।

न्यायिक निकायबाट मुद्दा छिनोफानो समयमै नहुँदा महोत्तरी कारागारमा कैदी–थुनुवाको सङ्ख्या बढ्दै गएको छ । विसं १९१३ मा निर्माण गरिएको कारागार भवन जीर्ण बनेको छ ।