मधेशटप डेस्क, फागुन ११ गते ।

बलिउड अभिनेता ऋतिक रोशन अहिले चर्चामा छन्। यो चर्चा उनको कुनै नयाँ फिल्मका कारण भने होइन, उनको प्रेम सम्बन्धका कारण हो।सुजेन खानसँग सन् २०१५ मा डिभोर्स गरेपछि ऋतिक एक्लै थिए। तर केही महिनायता उनी प्रेममा रहेको संकेत प्रशस्त पाइरहेको बलिउड लाइफले लेखेको छ।

बलिउड लाइफका अनुसार उनी अभिनेत्री तथा गायिका साबा आजादसँग प्रेम सम्बन्धमा छन्। उनीहरू पछिल्लो समय थुप्रै पटक रेस्टुरेन्टमा र बाहिर घुमफिर गरेका बेला मिडियाको सामु परेका छन्।हालै मात्र ऋतिकले आफ्नो घरमा भएको डिनरको फोटो सार्वजनिक गरेका थिए। त्यसमा पनि साबा उपस्थित थिइन्।यसबाट पनि उनीहरूको प्रेम सम्बन्धले निकै चर्चा पायो। ऋतिकले यसरी घरको तस्बिरमा साबाको उपस्थिति सार्वजनिक गरेपछि अड्कल काटिएको उनीहरूको प्रेम सत्य भएको दावी गरिएको छ।

ऋतिकका निकट स्रोतका अनुसार उनीहरू विगत तीन महिनादेखि प्रेममा छन्। त्यस्तै उनीहरूको भेट सुरूमा डेटिङ एपबाट भएको बताइएको थियो। तर स्रोतले उनीहरूको चिनाजान ट्विटरका माध्यमबाट भएको बताएको छ।अभिनयमा खासै जम्न नसके पनि साबा चर्चित गायिका तथा संगीतकार हुन्। उनको थिएटर कम्पनी पनि छ। उनले थुप्रै विज्ञापनहरूमा पनि अभिनय गरेकी छन्।ऋतिक र साबाले आफूहरूको सम्बन्ध चर्चामा नआओस् भने पनि यो खबरले अहिले निकै चर्चा पाइरहेको छ। साबालाई केही सञ्चारमाध्यमहरूले प्रश्न गर्ने प्रयास पनि गरेका थिए। तर उनले यसबारे जवाफ दिन इन्कार गरेकी छन्।