मधेशटप डेस्क, फागुन ११ गते ।

नक्कली जग्गा धनीपूर्जा लालपूर्जा देखाइ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेबी गाउँपालिका–८ का ३९ वर्षीय हितबहादुर बुढाथोकी छन्।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको बुढानीलकण्ठबाट बुधबार पक्राउ गरेको हो।

रामेछाप मन्थली नगरपालिका– ६ घर भएका कृष्णमाया घिसिङलाई ३५ लाखमै साँखुको ८ आना जग्गा दिने भन्दै ३३ लाख रुपैयाँ लिएर उनले ठगी गरेको महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताएका छन ।

बुढाथोकी बैना बापतको ३३ लाख रुपैयाँ लिएपछि सम्पर्कविहीन भएका थिए।पैसा लिएर पनि जग्गा पास नभएपछि कृष्णमाया मालपोत कार्यालय पुगेकी थिइन्।

मालपोत कार्यालयमा गएर बुझ्दा आफूलाई देखाइएको लालपूर्जामा उल्लेखित जग्गा कित्ता अर्कैको नाममा रहेको खुलेपछि कृष्णमायाले बुढाथोकीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।

पक्राउ परेका उनलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ।