मधेशटप फागुन १२ गते ।

काठमाडौं र ललितपुरमा भएका मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानसहित ५ जना घाइते भएका छन् ।काठमाडौंको बागबजारमा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् ।

बागमती प्रदेश ०२(०२६ प २४९ नम्बरको मोटरसाइकल र लु १६ प ५१०५ नम्बरको मोटरसाइकल गएराति १० बजे आपसमा ठोकिएका थिए ।घाइते भएका बाग्मती प्रदेशका मोटरसाइकल चालक महेन्द्रनगरका ३० वर्षीय सुदर्शन पनेरुको अवस्था गम्भीर छ ।

उनको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।अर्का मोटरसाइकलका चालक पाल्पाको रामपुर घर भई हाल बागबजार बस्ने ६० वर्षीय दिलबहादुर सूर्यवंशी र सोही मोटरसाइकलमा सवार स्याङ्जाको वालिङका ५४ वर्षीय सन्त बहादुर दर्जीको भने बागबजारस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।यसैगरी काठमाडौंको नारायणहिटी दरबारस्थित उत्तर गेट अगाडिको सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालक पवन कुमार चन्द गम्भीर घाइते भएका छन् । उनी नेपाल प्रहरीको अपराध महाशाखामा कार्यरत प्रहरी जवान हुन् ।

उनलाई महांकालस्थित ट्रमा सेन्टरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको थियो ।गएराति सवा १० बजे चन्दले चलाएको बागमति प्रदेश ०२(०२७प ७१७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।

यसैगरी ललितपुरको सातदोबाटोमा गएराति मिनी ट्रक र मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकल चालक दैलेखका ३५ वर्षीय रमेश कुमार मल्ल घाइते भएका छन् ।

उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।इमाडोलबाट ग्वार्कोतर्फ आउँदै गरेको बा २ ख ६५२२ नम्बरको मिनी ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको मल्लले चलाएको भे ८ प २९३ नम्बरको मोटरसाइकल गएराति पौने ११ बजे आपसमा ठोकिएका थिए ।मिनी ट्रकसहित चालकलाई प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।