मधेशटप डेस्क,फागुन १४

सरकारले युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह गरेको छ ।युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपालीलाई ती राष्ट्र हुँदै बाहिर निस्कन आग्रह गरेको हो ।

‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई मानवीयताको आधारमा आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी सुरक्षित तवरले नेपाल फर्कनका लागि ती मुलुकहरू तर्फ जान सकिने दूतावासले जनाएको छ ।

सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र सम्बन्धमा कुनै समस्या भएमा वा तत्काल यात्रा अनुमति पत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी र डिजिटल फोटो दूतावासको इमेल ठेगानामा पठाउन पनि दूतावासले आग्रह गरेको छ ।युक्रेनमा रहेका १९३ नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।

उनीहरू सबै हालसम्म सुरक्षित रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार स्थायी रूपमा बसोबास गर्ने ३८ जना र युरोप र अमेरिका जाने क्रममा रहेका करिब २ सय नेपाली युक्रेनमा रहेका छन् ।

गैरआवासीय नेपाली संघले भने युक्रेनमा करिब ४ सय नेपाली रहेको बताएको छ ।