मधेशटप डेस्क,फागुन १५ गते

राजविराज ; एक पक्षीय रुपमा समिति विस्तार गरिएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले शुक्रबार पार्टी कार्यालयमा सप्तरीमा तालाबन्दी गरेको छ ।

असन्तुष्टहरुले केही दिनअघि मात्र विस्तार गरिएको पार्टीको जिल्ला कार्यसमितिमा पुराना र सक्रिय कार्यकर्तालाई पाखा लगाइ आफन्त तथा आसेपासेलाई प्राथमिकता दिएको भन्दै त्रृटी नसच्याए आन्दोलनका थप कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएका छन् ।

त्रुटी सच्याउन पटक–पटक आग्रह गरिए पनि वेवास्ता गरिएको भन्दै बाध्य भइ तालाबन्दी गर्नु परेको असन्तुष्ट नेता कार्यकर्ताहरुले बताएका छन ।

आसेपासेलाई समितिमा राखेर पार्टीको लागि अहोरात्र खट्ने कार्यकर्ताहरुलाई पाखा लगाउनुले थुप्रै नेता कार्यकर्ताहरु अन्यायमा परेकोले आन्दोलनमा उत्रिनु परेको महिला नेतृ रीना झाले बताईन् ।

लोसपाका वीरेन्द्र यादव, सदानन्द शर्मा, शिवलखन मण्डल, बालबोध झा, सत्येन्द्र प्रसाद देव लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागितामा तालाबन्दी गरिएको छ भने त्रुटीपूर्ण निर्णय नसच्याए सम्म तालाबन्दी जारी रहने चेतावनी समेत दिइएको छ ।