महोत्तरी, १५ फागुन । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाको वडा नं.-५ मा विगत आठ महिनादेखि सामाजिक सूरक्षाभत्ता नपाएका वृद्धवृद्धाहरुले आज जलेश्वरमा जुलुश प्रदर्शन गरेका छन् ।

वडा अध्यक्ष राकेश कुमार राउतले आर्थिक वर्ष २०७८/०७९ को शुरुवात (साउन) देखि हालसम्मको सामाजिक सूरक्षा भत्ता अहिलेसम्म उपलब्ध नगराएको आरोप लगाउँदै करीब एक सयको संख्यामा आएका वृद्धवृद्धाहरुले सदरमुकाम जलेश्वरमा जुलुश प्रदर्शन गरेका छन् ।

हात हातमा लौरो बोकेर आएका वृद्धवृद्धाहरु लौरोको सहारामै जलेश्वर नगरभरि घुमेर सामाजिक सूरक्षा भत्ता उपलब्ध गराऊ, बाल पोषणभत्ता उपलब्ध गराऊ, एकल महिला भत्ता उपलब्ध गराऊ, अपाङ्ग भत्ता उपलब्ध गराऊ, दलित भत्ता तथा ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराऊ, वडा अध्यक्ष मुर्दाबाद, जलेश्वर नगरका मेयर राजीनामा देऊ, जस्ता नाराहरु लगाएका थिए ।

 

नगरभरि विभिन्न नाराहरु लगाउँदै जुलुश प्रदर्शन गरेका वृद्धवृद्धाहरु नारा जुलुश लगाउँदै जलेश्वर नगरपालिकाको वडा नं.-१ मा रहेको नगरपालिकाको कार्यालयमा पनि पुगेर नारा जुलुश लगाएका थिए ।

त्यसैगरी उनीहरु अन्त्यमा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पुगेर प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई आउँदो ७ दिनभित्र वडा नं.-५ का सम्पूणर् भत्ताभोगीहरुको भत्ता उलब्ध गराउन आवश्यक पहल गरिदिनु हुन ज्ञापन-पत्र समेत बुझाएका छन् ।

वृद्धवृद्धाले ज्ञापन पत्र बुझाउँदै आफूहरु विगत आठ महिनादेखि सामाजिक सूरक्षा भत्ता नपाउँदा आफूहरुलाई औषधी, दुध र मन लागेका खानेकुरा सहित अन्य आवश्यक सर सामान खरिद गर्न नसक्दा निक्कै समस्या भएको दुखेसो पनि प्रजिअलाई सुनाएका थिए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले वृद्धवृद्धालाई आफूले विगत आठ महिनादेखि बाँकी रहेको सम्पूणर् भत्ताभोगीहरुको भत्ता उपलब्ध गराउन जलेश्वरका मेयर रामशंकर मिश्र र वडा नं.-५ का वडा अध्यक्ष राकेश कुमार राउतसँग तत्काल कुरा गरेर समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।