मधेशटप डेस्क,

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेशमा छोरीमाथिको विभेद अझै कायम रहेको बताएका छन् ।

उनले छोरीलाई छोरासरह व्यवहार अझ पनि हुन नसकेको स्वीकारेका छन् ।उनले आधी आकाश ढाकेका महिलालाई अवसरको खाँचो रहेको कुरालाई जोड दिँदै छोरासरह छोरीलाई अवसर र शिक्षा नदिँदा मधेशमा समस्या भएको बताएका हुन् ।

उनले प्रदेश सरकारले महिला सशक्तीकरणका लागि बेटी बचाउ, बेटी पढाऊ अभियान, छोरी बीमा कार्यक्रम जस्ता लोकप्रिय कार्यक्रम अगाडी बढाएको बताए ।

तेली कल्याण समाज पर्साको ५औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई शनिबार वीरगन्जमा सम्बोधन गर्दै मन्त्री साहले समाज परिवर्तनसँगै राज्यसँग पहिचान, पहुँच र प्रतिनिधित्वका लागि सङ्घर्ष गर्दै समाजलाई अगाडी बढ्न आग्रह गरे ।

कार्यक्रममा मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले व्यापार व्यवसायसँगै समाजको सशक्तीकरणका लागि तेली समुदाय राजनीतिमा समेत लाग्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा संघीय सांसद प्रमोद साह, प्रदेशसभा सदस्य राजेश्वर साह, तेली समाजका संस्थापक सदस्य एवं केन्द्रिय उपाध्यक्ष विश्वनाथ साहलगायतले आफ्नो मन्तव्य राखेका थिए ।