जनकपुरधाम : धनुषा प्रहरीले मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दाका फरार एक दम्पतिलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ का ४२ वर्षिय रामजी पासमान र उनको श्रीमती ३२ वर्षीया बिभा पासमान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले २२ माघ २०७७ मा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ भने उनकी श्रीमती बिभा पासमानलाई १७ वर्ष र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

फैसला भए पश्चात फरार रहेका दुवै जनालाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका १३ स्थितबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

दुबैजनालाई धनुषा जिल्ला अदालतमा मंगलबार नै हाजिर गराएको र कारागार कार्यालय झुम्का सुनसरीमा पठाउने आदेश भएको धनुषा प्रहरीले जनाएको छ ।