जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ ताराटोलस्थित सल्हेको मन्दिरको एक कार्यक्रमबीच उदघाटन गरिएको छ ।

 

शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले सोमबार मन्दिरको उदघाटन गरेका छन् ।

 

दुसाद (पासवान) समुदायको कुलदेवता मानिने सल्हेको मन्दिर निर्माणको लागि मेयर बरबरियाले नगरस्तरीय योजनाबाट ६ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

 

६ लाख रुपैयाँमा मन्दिर सहित सल्हेशको सिमेन्टको पक्की मूर्ति समेत निर्माण गरीएको हो । मन्दिरमा आधा दर्जन सिमेन्टको मूर्ति बनाइएको छ भने बाहिर पनि ठुलो पहरेदारको मूर्ति सिमेन्टकै निर्माण गरिएको छ ।

ताराटोलमा मुसहर समुदायको मोटो वस्ती रहेको र उनीहरुले सल्हेशको गहबर बनाईदिन आग्रह गरेपछि मेयर बरबरियाले सो मन्दिर बनाउन चासो लिएका थिए ।

उदघाटन गर्दै मेयर बरबरियाले आस्थाको सबालमा आफू सधैँ तत्पर रहेको बताए । उनले (पासवान) समुदायको आस्थाको लागि माग बमोजिम मन्दिर निर्माण गरी मूर्ति समेत निर्माण गरिएको बताए ।

 

यसका साथै, मेयर बरबरियाले उत्पीडनमा परेका जातजाती, समुदाय, हेपिएका समुदायको उत्थानको लागि माओवादी केन्द्र पार्टीले सधैँ लडदै आएको बताउँदै पिछडिएको समुदायको लागि नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र मात्र एक राजनीतिक पार्टी रहेको दाबी गरे ।

 

सोमबार स्थानीयवासीहरुको उपस्थितिमा मन्दिरको उदघाटन गरेका हुन् । आउँदो बैशाख १ गते लाग्ने मेलाको लागि मँच समेत निर्माण गरिएको हो ।