मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न गएका ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निशेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

सिराहा जिल्लाको मिर्चैया नगरपालिकास्थित मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाउँमा व्यक्तिले कब्जा गरेर बिक्री गरेको विषयमा छानबिनका लागि समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै उनीहरू विरोध प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए ।

अभियानका संयोजक सुनिल कुमार यादवले चुरे वन विनाश र सिराहा वन कार्यालयको अनियमितता, मारुती सिमेन्टले कब्जा गरेका जग्गा फिर्ती र मधेसका भूमिहीनहरूलाई भूमिप्रतिको अधिकार दिने भनेर पटकपटक गरेको प्रतिवद्धता कार्यान्वय नगरेकोले आफूहरू आन्दोलनमा उत्रिएकाे बताए ।

निषेधित क्षेत्रमा जुलुस, बन्द, हडताल तथा नाराबाजी गर्न नमिल्ने भएकाले प्रहरीले उनीहरूलाई पक्राउमा  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

स्थानीय रेल्वे स्टेसनबाट जुलुससहित नारावाजी गर्दै चुरे तथा वनजङ्गल अभियन्ताहरू मधेस प्रदेशका मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए ।