जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उप–प्रधानमन्त्री उपेन्द्र यादवले अरु जिल्लाको तुलनामा धैरै पछाडि परेको सप्तरीको विकास प्रारम्भ भएको बताएका छन् । सप्तरीको छुट्टाछुट्टै स्थानमा आइतबार चार सडक योजनाको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

सडक शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष यादवले विकासको आधारको रुपमा रहेको सडक संजाल निर्माणले सप्तरीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । जनता समाजवादी पार्टीले विकास र अधिकार प्राप्तिको लडाईलाई सँगसँगै अगाडि बढाउँदै निरन्तर संघर्ष जारी राखेको छ, अध्यक्ष यादवले भने, देशमा कायम मधेशी लगायतका उत्पीडित जाती समुदायमाथि भएको भेदभाव, दमन उपेक्षा जरैदेखि उखालेर अधिकार सम्पन्न गर्ने लक्ष्य पार्टीले लिएको छ । अध्यक्ष यादवले विगतका सरकारको बिभेदकारी नीतिका कारण मधेशका जिल्लाहरु विकासमा पछाडि परेको आरोप लगाए ।

सप्तरीको भारदहमा आयोजित सडक शिलान्यास कार्यक्रम मञ्चासिन प्रमुख अतिथि यादवसहित अतिथिगणहरु ।

पार्टी संघ प्रदेश र स्थानीय सरकारमा रहेकोले सप्तरीसहितको मधेशका जिल्लाहरुमा विकासको कार्य प्रारम्भ भएको चर्चा गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टीले विभेद मुक्त समृद्ध सामज निर्माण तथा गाउँ गाउँको विकास गर्ने लक्ष्य लिएको बताए । हरेक गाउँ–गाउँमा सडक, शिक्षा, स्वास्थ्य, विजुली, स्वाच्छ खानेपानीको सुबिधा सम्पन्न बनाउने उल्लेख गर्दै उप–प्रधानमन्त्री समेत रहेका यादवले रामराजा सिंह स्वास्थ विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज, कृषि बिश्वविधालय, इन्जिनियरिङ्ग कलेज र सडक योजनाले पूर्णता पाएपछि रोजगारी र विकासको अनुभूति हुने बताए ।

अध्यक्ष यादवले मधेश र मधेशी जनतामाथि अझै आन्तरिक उपनिवेशिकरण, विभेद र असमता र अन्याय कायम रहेकोले थप संघर्षको आबश्यकता औलाए । विभेद र असमानता विरुद्ध सडक र संसद दुबै ठाउँबाट दवाव सिर्जना गर्नुपर्नेमा जोड दिदै अध्यक्ष यादवले सामाजिक न्याय र समनताको लागि सबैको साथ सहयोगको जरुरी रहेको बताए । यादवले गरिवी र वेरोजगारी न्यूनीकरण गर्न कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले सप्तरीको विकास उपेन्द्र यादवको ठूलो योगदान रहेको बताए । राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सप्तरीबाट चुनाव लड्नु हामी सबैको गौरवशाली कुरा हो, मन्त्री यादवले भने, भाग्यले भौतिक पूर्वधार मन्त्रालयको जिम्मेवारीको अवसर प्राप्त भयो, अध्यक्ष ज्युको सुझबुझ र दुरदर्शिताले जिल्लाबासीको सेवा गर्ने सौभाग्य पाए । मन्त्री यादवले भौतिक पूर्वधार विकासमा जिल्लालाई सम्पन्न पार्ने प्रतिबद्धता व्यक्त गर्दै विकासको कार्यमा जनताले समेत सहयोग गर्नुपर्नेमा जोड दिईन् ।

भारदहमा आयोजित सडक शिलान्यास कार्यक्रममा सहभागी जसपाका नेताकार्यकर्ताहरु । फोटो ः न्यूज टुडे
मधेश प्रदेश सरकारका प्रबक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले देश संघीय ब्यबस्थामा गएकाले सयौं बर्ष हुन नसकेको विकासको काम ४ बर्षमा भएको दावी गरे । उपेन्द्र यादव नेतृत्वको मधेश विद्रोहले मधेशमा पहिचान, प्रतिनिधित्व र अधिकार प्राप्त भएको उल्लेख गर्दै मन्त्री साहले प्राप्त उपलब्धिको रक्षा र थप अधिकारको सुनिश्चितताको लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

सडक शिलान्यास कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, प्रदेश साँसद मनिष सुमन, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस मञ्च नेपालका महासचिव अबधेश झा, तिलाठी कोईलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादव, सडक डिभिजन कार्यालयका क्षत्रीय डिभिजनल प्रमुख ज्ञानेन्द्र कुमार झा, राजविराज नगरपालिका १० का वडा अध्यक्ष सुशील दास, जसपा जिल्ला कार्यकारिणी समिति सदस्य निरज कुमार मुक्ति लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

राजविराज नगरपालिका वडा नम्बर–१० स्थित दिघबामा बिहान ८ बजे बिरौल– डुमरी– भरुवा –झल्हीफर्सेठ– सिगियौंन– तिलाठी– चट्टी टोल– लोखरम– लालापट्टी सडकको अध्यक्ष यादव र भौतिक पूर्वाधार विकास मन्त्री रेणु कुमारी यादवले संयुक्त रुपमा शिलान्यास गरे ।

संघीय सरकार र प्रदेश सरकारको समपूरक अनुुदानअन्तर्गत निर्माण हुुने उक्त सडकको कूल बजेट ५४ करोड ८९ लाख ५६ हजार ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेकोमा रमण जे.एस. आइभी कन्सट्रक्सनले उक्त सडक ३१ करोड ३८ लाख ८७ हजार १ सय १८ रुपैयाँ ५६ पैसामा निर्माण गर्ने सम्झौता भएको छ । यसैगरी महदेवा गाउँपालिका वडा नम्बर–१ पकरीदेखि– सोनरा– तोपा हँँुदै राजविराज वडा नम्बर १५ मुसहरनियाँ हुदै विषहरिया– सकरपुरा हुँदै रम्पुरा डलवासम्मको सडक समेत अध्यक्ष यादव र मन्त्री यादवले संयुक्त रुपमा आइतबारै शिलान्यास गरेका छन् ।

उक्त सडकको शिलान्यास विहान १० बजे तोपामा गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवका स्वकीय सचिव अशोक कुमार यादवले जानकारी दिएका छन् । सडकको कूल बजेट कर ५४ करोड ६३ लाख हजार ७ सय ५१ रुपैयाँ रहेकोमा रमण जे.एस. आइभी कन्सट्रक्सनले ३१ करोड २४ लाख ८ हजार ३ सय २४ रुपैयाँ २८ पैसामा निर्माण गर्ने जिम्मा पाएको छ ।

यस्तै संघीय सरकारको रणनीतिक सडक अन्तर्गत कूल बजेट २५ करोडको लागतमा सप्तरीको भारदह– डाढा, पकरी सडकको शिलान्यकाास समेत आइतबारै २ बजे भारदहमा आयोजित एक समारोहका बीच शिलान्यास गरिएको छ साथै सोही अवसरमा राजविराजदेखि भारदहसम्म दुुई लेनको रुपमा विकास गरिने कार्यको समेत शिलान्यास गरिएको जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।