उमेश कुमार साह
२०७८ चैत्र २४, बिहीबार

टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यूनीकरण गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइड विरुद्धको खोप अभियान सप्तरीको बोदे बर्साईन नगरपालिकामा चैत २६ गते देखि सञ्चालन हुने भएको छ ।

खोप अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिइने छ ।

बोदे बर्साईन नगरपालिकामा २६ गते देखि ३० गते सम्म चल्ने यो अभियानमा करिब ३३ हजार बालबालिकालाई टाईफाईडको खोप लगाउने योजना रहेको जनाईएको छ । नियमित खोप दादुरा, रुवेलासँगै टाइफाइड विरुद्धको खोप दिन लागिएको हो । खोप पूर्ण रुपमा सुरक्षित तथा टाइफाइडबाट बचाउन पूर्ण सक्षम रहेको अनुसन्धानबाट पुष्टि भएकोले निर्धक्क भएर खोप लिन बोदे बर्साईन नगरपालिका स्वास्थ शाखाका डाक्टर अरबिन्द्र कुमार यादवले आग्रह गरे । हात मार्फत मुखमा दिसाको कण परेको खण्डमा टाइफाइड हुने भएकाले जोगिनका लागि नियमित हात धुने, चर्पिको सरसफाई गर्ने ,शुद्ध खानेपानीको सेवन गर्ने लगायतको कामलाई निरन्तरता दिन शत्रुध्न हस्पिटल बोदे बर्साईनको कर्मचारी मोहम्मद अयुव अलिले बताए । बोदे बर्साईन नगरपालिकाको स्वास्थ्यकर्मी र जनप्रनिधिको सहकार्यमा बिद्यालय केन्द्रित गरी यो अभियानलाई सफल बनाउने योजना राखेको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई अभिभावकले नजिकैको विद्यालय वा स्वास्थ्य केन्द्रबाट यो सुविधा लिन सक्ने हस्पिटलका सिनियर अहेब अधिकृत मोहम्मद अयुव अलिले जानकारी दिए ।

शत्रुध्न हस्पिटलका कर्मचारी अलिले राज्यको स्कुल केन्द्रित अभियानलाई सफल पार्न सबैले आ–आफनो स्थानबाट लाग्नुपर्नेमा जोड दिए ।


त्यस्तै नगरपालिकाको डाक्टर यादवले स्वास्थ्यकर्मीहरुलाई उपलब्ध भएको जनशक्तिको सदुपयोग गर्दै हरेक बालबालिकालाई टाईफाईडको खोप दिन निर्देशन दिए । अन्तरिक्रात्मक कार्यक्रममा बोदे बर्साईन नगरपालिकाका वडा नम्बर ५ का अध्यक्ष मो. मजेबुल रहमान ,स्थानीय विभिन्न पार्टीका नेताकार्यकर्ता , मा बि बोदे बर्साईनका प्रअ गौरीशंकर चौधरी ,शिक्षक कर्मचारी ,बिभिन्न वडाका वडा अध्यक्षहरु र स्वास्थ्यकर्मीहरु , पत्रकार उमेश कुमार साह लगायतको सहभागिता रहेको थियो ।

मधेस प्रदेशको ८ जिल्लामा खोप लगाउने उमेरका १७ लाख ८७ हजार ७ सय १० जना बालबालिकाहरु रहेका छन् । मधेश प्रदेशका स्वास्थ्य निर्देशनको ले कम्तीमा पनि ९५ प्रतिशत लक्षित वर्गलाई खोप लगाउने तयारी भइरहेको जनाएको छ ।