काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तीन दिन भित्र उम्मेदवारको टुंगो लगाउन निर्देशन दिएको छ ।

वैशाख ३० गते हुने स्थानीय चुनावका लागि वडा र पालिकास्तरबाट चैत २८ गते भित्र उम्मेदवार सिफारिस गर्न लोसपाले निर्देशन दिएको हो।

बिहिवार लोसपाको केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जिल्लाहरूमा विस्तारित बैठकबाट चैत २८ भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिइएको नेता केशव झाले जानकारी दिए।

वडाध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखलगायतको नाम सिफारिस गर्न पनि लोसपाले निर्देशन दिएको हो।

नेता झाका अनुसार लोसपाले देशैभरबाट उम्मेदवारी दिने तयारी गरेको छ।

उनले स्थानीय तहमा गठबन्धन गर्ने पक्षमा लोसपा नरहेको समेत बताए। तर स्थानीय आवश्यकता र औचित्यका आधारमा जित्ने गरी तालमेल गर्न भने छुट दिइने उनको भनाइ थियो।

उम्मेदवार सिफारिस गर्दा ०७४ मा राम्रा काम नगरेकालाई सिफारिस नगर्न पनि लोसपाले निर्देशन दिएको छ।

झाले भ्रष्टाचारमा नाम मुछिएकाहरूको नाम सिफारिस नगर्न पनि आग्रह गरिएको बताए ।