जनकपुरधाम : जनकपुरधाममा (शनिबार) देखि ‘जनकपुरधाम टी–२० च्याम्पियनसिप’ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

धनुषा क्रिकेट संघको आयोजनामा जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा प्रतियोगिता सुरु भएको हो ।

प्रमुख अतिथिको आशनबाट प्रतियोगिताको उद्घाटन गर्दै निर्माण व्यवसायी दीपेन्द्र ठाकुरले युवाको क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगिता निरन्तर आयोजना हुनुपर्ने बताए ।

उनले खेलकुद प्रतियोगिताको आयोजनामा आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतियोगितामा १६ वटा टिम सहभागी रहेको क्रिकेट संघ धनुषाका अध्यक्ष शोेभाकान्त पाण्डे (गुड्डु) ले जानकारी दिए । उनले प्रतियोगितामा सहभागी १६ मध्ये ११ वटा टिम नेपालको र पाँचवटा टिम भारतको रहेको बताए ।

पाण्डेले नकआउट लिगको आधारमा भइरहेको यो प्रतियोगिता ४ वैशाखसम्म चल्ने बताए ।

यसअघि बृहत स्तरमा शहीद कप प्रतियोगिताको आयोजना गरिँदै आएपनि कोरोना संक्रमणका कारण प्रभावित भएको र स्थानीयस्तरका टिमलाई सामेल गरेर जनकपुरधाममा फेरि खेलको माहोल बनाउन लागिएको उनले बताए ।

प्रतियोगिताको विजेताले ५१ हजार र दोस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने क्रिकेट संघ धनुषाका सदस्य सरोज मिश्रले जानकारी दिए ।

प्रतियोगिताका सहसंयोजक प्रेमचन्द्र रायले खेलकुदमैत्री वातावरण सिर्जना गर्न र स–साना क्रिकेट टिमलाई स्थान दिने उद्देश्यले प्रतियोगिता आयोजना भइरहेको जानकारी दिए ।

प्रतियोगिता आयोजनाका लागि १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झा र संघका पूर्व उपाध्यक्ष राजु चौधरी रहेका थिए ।