जनकपुरधाम ।  बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि विभिन्न नेता कार्यकर्ताहरुले धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

कतिपयले समूह बनाएर र कतिपयले व्यक्तिगत रुपमा पोष्टर बनाएर आ–आफ्नो फेसबुक पेजमार्फत उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।

स्थानीय तहमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका तथा गर्न बाँकी नेता आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन दौडधुप गरिरहेका छन् । निर्वाचनको नजिकिदै जाँदा नेताहरु उत्साहित भएर आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिएका छन् ।

स्थानीय तहका लागि प्रमुख, उपप्रमुख अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष देखि लिएर सदस्यका लागि पूर्वमन्त्रीदेखि साँसदहरुले समेत उम्मेदवारी दिने मनसायमा छन् । शनिवार धनुषाको औरही गाउँपालिका वडा नं.३ का लागि प्रमेश्वर मण्डललाई वडाअध्यक्षको लागि नेकपा एमालेको वडा कमिटिको बैठकबाट सर्वसम्मतले उम्मेदवार बनाउँने निर्णय गर्यो ।

यसअघि समेत निर्वाचित भईसकेको मण्डलले आफु विकासको पक्षधर रहेको हुँदा जित निश्चित रहेको दाबी गर्छन । वडाको लागि अहोरात्र खट्ने युवा नेता मण्डल यस पटक समेत जित्ने स्थानीयबासीहरुको भनाई छ ।

विकास प्रेमी तथा युवाको हितमा सदैव काम गर्ने मण्डल पछिल्लो कार्यकालमा जनताको हितमा काम गरेर चर्चामा समेत रहेका छन् ।