जनकपुरधाम : मधेस प्रदेशको राजधानी जनकपुरधामको मेयरका लागि नेकपा एमालेले शिवशंकर साह ‘हिरा’को नाम सिफारिस गरेको छ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा एमालेले हिरालाई मेयरको उम्मेदवारमा अघि सारेको हो। उनी एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत हुन्।

एमालेको जनकपुरधाम नगर सचिव राजुकुमार साहले जनकपुरधामको मेयरको उम्मेदवारको रुपमा सर्वसम्मत रुपमा हिराको नाम सिफारिस गरिएको बताए।

त्यस्तै जनकपुरधाम–१० को वडाध्यक्षको पदमा सुशिल कर्णको नाम वडास्तरीय बैठकबाट सिफारिस गरिएको छ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले तेस्रो स्थान हासिल गरेको थियो। त्यो समय तत्कालीन राजपा नेपालका उम्मेदवारले जित हासिल गरेका थिए।

यस्तै शनिबार निर्माण व्यवसायी बलराम महतोले स्वतन्त्र रुपमा मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए। बाँकी दलले अहिले उम्मेदवारको टुङ्गो लगाएको छैनन्।