काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको विभिन्न स्थानबाट हराएका २५ वटा सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

ट्राफिक कार्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले हस्तान्तरण गर्नुभएको हो ।

काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी कार्यालयमा परेको हुलिया निबेदन पश्वात परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताउनुभयो ।

उहाँले मोटरासाईकल चोरी गर्ने गिरोह माथी निरन्तर निगरानी राखि सुचना संकलन भैरहेको छ, मोटरसाईकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भईरहेको बताउनुभयो ।

थप प्रष्ट पार्दै एसएसपी जोशीले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताउनुभयो ।

उहाँले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।

उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्ये पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । पल्सर बाहेक पछिल्लो समय स्कुटरहरु समेत हराएको भनी निबेदन पर्ने क्रम बढेको कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाईकल चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत परिचालन गरेको छ ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।