धनुषा : जनकपुरधामका नगर सभापति मनोज साहले पाँच दलीय गठबन्धनले मेयर र उपमेयरका नेपाली कांग्रेसलाई छाडनु पर्ने अडान राखेका छन् ।

मेयर र उपमेयर कांग्रेसलाई नदिए गठबन्धनबाट अलग्गिएर कांग्रेस एक्लै निर्वाचनमा लडने पनि उनले घोषणा गरेका छन् ।

‘राजनीतिक संयन्त्रको बैठकमा जनकपुरको मेयर र उपमेयर नेपाली कांग्रेसले पाउनुपर्छ भनेर पार्टीको निर्णय सुनाएको छु, उपेन्द्रजीको पार्टी जसपा नेपालले अस्विकार गरेको छ,’ साहले जनतापाटीसँग भने, ‘ मेयर र उपमेयर नपाए कांग्रेस एक्लै निर्वाचनमा होमिनेछ ।’

उनका अनुसार २५ वटा नै वडामा अध्यक्ष र सदस्य उम्मेदवारको हकमा गठबन्धन गर्न भने कांग्रेसको मञ्जुरी रहनेछ ।

‘गत निर्वाचनमा कांग्रेसले ११ हजार बढी मत ल्याएको थियो’, साहले अगाडी भने, ‘यो जनमतलाई अपमान हुने गरी निर्णय हुन खोजेमा गठबन्धनवाट कांग्रेसले विद्रोह गर्नेछ ।

’ गत निर्वाचनमा मेयरका उम्मेदवार भएर पराजित भएका साहलाई पुनः मेयरमा उठाउने जनकपुर कांग्रेसको तयारी छ ।