जनकपुरधाम : सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह चुनावका लागि आज टिकट बाँड्ने भएको छ।

पालिका प्रमुख र उपप्रमुखको टिकट वितरण आज गर्न लागिएको हो।

पार्टीले तय गरेका उम्मेदवारहरुलाई केन्द्रीय सचिवालय जनकपुरधामबाट मनोनयन पत्र वितरण गर्ने जनमत पार्टीले निर्णय गरेको हो।

केही स्थानीय तहमा भने पार्टीले उम्मेदवार तय गरिसकेको छैन।

पार्टीका नेता बिपी साहका अनुसार वडाध्यक्षहरूको मनोनयन पत्र वितरण वैशाख ७ र ८ गते हुनेछ।

मधेश प्रदेशका उम्मेदवारलाई केन्द्रीय सचिवालय जनकपुरधाम, प्रदेश नम्बर १ का उम्मेदवारलाई विराटनगर र लुम्बिनी प्रदेशका उम्मेदवारलाई भैरहवाबाट टिकट वितरण गर्ने तयारी छ।

नेता साहका अनुसार उम्मेदवारहरूले मनोनयन पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ।

उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च आफैंले बेहोर्नु पर्ने पार्टीले निर्णय गरेको छ। वैशाख ३० मा हुने स्थानीय चुनावमा जनमत पार्टीले सबै ठाउँमा उम्मेदवारी दिने जनाएको छ।