जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रिता कुमारी मिश्रले पदबाट राजीनामा दिएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगरप्रमुख साह र उपप्रमुख मिश्रले आ–आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उनीहरूले आज दिउँसो राजीनामा दिएका छन् । नगप्रमुखसहित केही वडाध्यक्षहरूले पनि राजीनामा दिएका छन् ।

साहले भने, ‘मलगायत उपप्रमुख र वडाध्यक्षहरू उपमहानगरपालिकाको कार्यालय पुगेर हामीले राजीनामा बुझाएका छौं ।’

उम्मेदवार बन्न हालको पद त्याग गर्नुपर्ने प्रावधानअनुसार आफूहरूले राजीनामा पत्र बुझाएको साहले जानकारी दिए ।

नगरप्रमुख साह जनता समाजवादी पार्टीबाट पुनः उक्त पदका लागि उम्मेदवारी दिँदैछन् भने उपप्रमुख मिश्र लोकतान्त्रिक समाजवादी पार्टीबाट उपप्रमुख पदमा प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ ।