जनकपुरधाम। सिरहा नगरपालिकाको मेयरमा टिकट सुनिश्चित नभएपछि मन्त्रीले प्रदेश सांसदबाट दिइसकेको राजीनामा फिर्ता लिएका छन् ।

मधेश प्रदेशको कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले मन्त्री पद तथा सांसद पदबाट राजीनामा दिए पनि मेयरको टिकट पक्का नभएपछि फिर्ता लिएका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट सांसद रहेका यादव अहिले प्रदेश सरकारमा मन्त्री छन्।

‘साथीभाइहरूको समन्वयमा मेयरको टिकट पाउने सुनिश्चित नभएपछि दिएको राजीनामा मैले फिर्ता लिएको हो,’ यादवले लोकान्तरसँग भने, ‘सिरहा नगरपालिकामा सत्ता पक्षीय गठबन्धन गरेर नेकपा एसलाई नै मेयर पद दिने भन्ने मौखिक सहमति भए पनि व्यवहारमा नमान्दा मैले आफ्नो राजीनामा फिर्ता लिएको हो ।’

यादव नेकपा एसका सिरहा जिल्ला अध्यक्ष पनि हुन्।

‘मैले राजीनामाका लागि अस्ति प्रदेश सभा सचिवालयमा निवेदन दिएको थिएँ, तर दर्ता पनि नभएको हुनाले राजीनामा फिर्ता लिन सहज भएको हो,’ उनले भने ।

यसअघि प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले पनि लोकान्तरलाई प्रतिक्रिया दिँदा उनले राजीनामा दिएको खुलाएका थिए। तर अहिले उनी पनि यादवले मन्त्री पदबाट दिएको राजीनामा प्रदेश सभा सचिवालयमा दर्ता नगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जस्ताको त्यस्तै निवेदन फिर्ता पठाएको बताए।

‘मन्त्री यादवले सांसद पदबाट राजीनामा दिएको भए प्रदेश सभा सचिवालयमा दर्ता हुन्थ्यो, तर उहाँले मन्त्री पदबाट राजीनामा दिएको भन्दै प्रदेश सभामा निवेदन दिएको हुनाले दर्ता नगरी मुख्यमन्त्री कार्यालयमा पठाएको थिएँ,’ प्रदेश सभा सचिवालयका सचिव यादवले भने ।