पोखरा :  केन्द्रमा तय गरिएको गठबन्धनबीच सिट बाँडफाँट गर्ने सहमति नेपाली कांग्रेस कास्कीले अस्वीकार गरेपछि पोखरा महानगरपालिकाका ३३ वटै वडामा सबै दलले आआफ्ना उम्मेदवार उठाउने भएका छन्।

कांग्रेस जिल्ला समितिले ३३ वडामध्ये २४ मा कांग्रेस, ६ माओवादी केन्द्र, २ एकीकृत समाजवादी र १ वडा जनता समाजवादी पार्टीलाई दिने सहमति भए पनि केही वडामा सहमति हुननसक्दा सबै वडामा मित्रवत प्रतिष्पर्धा गर्ने गरी सबै दलले वडाध्यक्षमा आआफ्ना उम्मेदवार उठाउने भएका हुन्।

कांग्रेस पोखराका सचिव गणेशबहादुर थापाका अनुसार पोखरा महानगरको मेयर र उपमेयरमा भने गठबन्धनको निर्णय स्वीकार गर्दै नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र कांग्रेसका उपमेयर उम्मेदवारलाई गठबन्धनका सबै दलले समर्थन गरेका छन्। कांग्रेसले उपमेयर भने तय गर्नसकेको छैन।

‘वडामा सहमति हुन नसकेपछि हामीले सबै वडामा उम्मेदवार दिने भएका हौँ,’ थापाले भने।

गठबन्धनबीच सहमति हुन नसकेपछि सबै वडामा सबै दलले आआफ्ना उम्मेदवार उठाउने निर्णयसँगै कांग्रेस कास्कीमा कार्यकर्ताहरुले नै लगाएको तालाबन्दी खुलेको छ।

पोखरामा कांग्रेसमा जनाधार राम्रो रहेको भन्दै कास्कीका नेता तथा कार्यकर्ताले नेकपा एकीकृत समाजवादीलाई मेयर पदको टिकट दिने केन्द्रको निर्णयबिरुद्ध कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरेका थिए।