काठमाडौँ : देशभरका ७५३ स्थानीय तहका विभिन्न पदमा डेढ लाख जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार बिहान ७ बजे दिएको जानकारीअनुसार यतिबेलासम्म डेढ लाख हाराहारीमा उम्मेदवारी दर्ताको विवरण प्राप्त भइसकेको छ।

‘अहिले ठ्यायक्कै डाटा त कण्ठ भएन तर अब लगभग अन्तिम सूची जस्तै हो, उम्मेदवारी संख्या डेढ लाख हाराहारी पुगेको छ’, प्रवक्ता पौडेलले नेपालखबरसँग भने, ‘कुनै न कुनै स्थानको मात्र आउन बाँकी छ।’

तर यसको अन्तिम सूची प्रकाशन गर्न बाँकी रहेको उनले बताए।

देशभर पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत गरी ३५ हजार २ सय २१ पदका लागि वैशाख ३० गते निर्वाचन हुँदै छ।