जनकपुरधाम : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा गाउँ(गाउँमा चुनावी रौनक बढेको छ। अब मतदान गर्ने दिन अर्थात् वैशाख ३० आउन ९ दिन मात्र बाँकी रहेको छ।

अहिले उम्मेदवारहरू घरघर गएर मतदातालाई आफ्ना पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् भने मतदाताहरू उम्मेदवारबाट प्रतिबद्धता खोजिरहेका छन्।

केही दिनअघिसम्म निर्वाचन प्रति खासै रुचि नदेखाएका स्थानीय अहिले दिनैपिच्छे आफूले समर्थन गर्ने उम्मेदवारसँगै प्रचारप्रसारमा जुटेका छन्।

गाउँघरका चोकसहित घर(घरमा पार्टीका झण्डा र चुनाव चिन्ह लगाएर स्थानीय मतदाता निर्वाचनको माहोल बनाउन लागिपरेका छन्। स्थानीय तह निर्वाचन भएका कारण पनि उम्मेदवारको संख्या दलगत र स्वतन्त्र गरी ठूलो संख्यामा छ।

एउटै वडामा पनि वडा अध्यक्ष र सदस्यसहित विभिन्न पार्टी र स्वतन्त्र गरी ५० जनाको हाराहारीमा उम्मेदवार रहेका छन्।

परिवारका सदस्य र नातापाता गरी एउटै उम्मेदवारको पक्षमा पनि १५ देखि २० जना सक्रियरूपमा लागेका कारण पनि गाउँ निर्वाचनमय बनेको स्थानीय बताउँछन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का रमेश चौधरीले भने, ‘अहिले टोल टोलमा उम्मेदवार पुगिरहेका छन्, उनीहरू आफूलाई मत दिन भन्दैछन्, हामीहरू पनि हाम्रा माग राख्दैछौँ।’

केही दिन पहिलेसम्म चुनावप्रति खास मतलब नभए पनि अब घर(घरमा उम्मेदवार आएपछि उनीहरूसँग प्रचारप्रसारमा जान मन लाग्ने गरेको उनले बताए।

धेरै उम्मेदवारले आश्वासन बाँड्ने गरेका छन्’ , धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का अमर गिरीले भने, ‘तर स्थानीय तहमा कसले काम गर्न सक्छ भनेर सोच्नु पर्ने अवस्था छ।’