जनकपुरधाम, ३१ वैशाख ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता एवम् मधेस प्रदेशका अर्थमन्त्री शेलेन्द्रप्रसाद साहले मधेस प्रदेशमा जसपा नेपालले बहुसँख्यक स्थानीय तह जित्ने दाबी गरेका छन् ।

शुक्रबार भएको मतदानमा मतदाताहरूले पार्टी नेतृत्व र उम्मेदवारहरूप्रति विश्वास व्यक्त गर्दै मतादेश दिएको उनको भनाइ छ ।

सप्तरीको राजविराजमा शनिबार बिहान पत्रकारहरूसँग कुरा गर्दै प्रदेशमा जसपा नेपालको सांगठनिक अवस्था सुदृढ रहेको र पार्टीका सिद्धान्त, नीति र राजनीतिक कार्यक्रमप्रति जनरुझान रहेकाले पनि जसपाका उम्मेदवारहरू बढीभन्दा बढी सँख्यामा जित्ने मन्त्री साहले बताए ।

उनले भने, ‘मधेस प्रदेशमा राजनीतिक स्थिरता, विकास र समृद्धिका प्रयास तथा संघीयतासहितका परिवर्तनविरोधी प्रतिगमनकारीलाई परास्त गर्ने पार्टीको विहंगम प्रयासका कारण स्थानीय तह निर्वाचनमा जसपा नेपाल थप जनअनुमोदित हुने भएको छ ।’

उनले उच्चतम लोकतान्त्रिक अभ्यास चुनावमा शान्तिपूर्ण सहभागिता जनाएका मतदाताप्रति कृतज्ञतासमेत ज्ञापन गरे ।

उनले भने, ‘निर्वाचनमा जनताको सहभागिता राजनीतिक प्रणालीप्रतिको आस्था हो । स्थानीय तह निर्वाचनमा यसको सशक्त अभिव्यक्ति नै मतदान गर्नु हो । यसका लागि म सबै मतदाता जनताप्रति आभार व्यक्त गर्दछु ।’

उनले मतदान सम्पन्न गराउने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रक्रियालाई सतर्कतापूर्ण सञ्चारकर्मीलाई समेत धन्यवाद दिए ।