प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टीसँग सहकार्य गर्ने तयारी गरेको छ । ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जसपा गठबन्धका अन्य दलसँग असन्तुष्ट भइरहेका बेला एमालेले सहकार्य गर्ने तयारी गरेको हो । यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् ।

देशका अधिकांश क्षेत्रमा सत्ता गठबन्धनसँग चुनावी धक्का खाएपनि नेकपा एमालेले तराई मधेसका जिल्लाहरूमा निर्णायक प्रभाव बनाएको छ । सत्ता गठबन्धनका दलहरूलाई एमालेले मधेस प्रदेशका अधिकांश जिल्लामा धक्का दिएसँगै सत्ता गठबन्धन संकटमा परेको आकलन गर्न थालिएको छ । गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिन थालेको बेला जसपा भने तालमेलको क्रममा स्थानीय निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै असन्तुष्ट हुँदा ओलीले उक्त पार्टीका अध्यक्ष यादवलाई भेटेका हुन् ।

मधेसमा विशेष प्रभाव जमाएको जनता समाजवादी पार्टीले सत्ता गठबन्धनबाट खास उपलब्धि प्राप्त गर्न नसकेको र एमालेले आफ्नो पुरानो मत प्रतिशतलाई उल्लेख्य सुधार गरेसँगै जसपा र एमाले सहकार्य गर्नुपर्ने बाध्यात्मक अवस्थामा दुबै दल पुगेको विश्लेषण हुन थालेको छ ।

गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा एमालेले सिरहामा ९, धनुषा, रौतहट र सप्तरीमा ३/३ पालिका जितेको छ भने बारा र पर्सामा ५/५ पालिका जितेको छ भने कलैया उपमहानगरको नेतृत्व पनि एमालेले प्राप्त गर्दै मधेसमा एमालेले आफ्नो प्रभाव विस्तार गरेको छ भने विगतको तुलनामा जसपा र लोसपाको प्रभाव तुलनात्मक रूपमा घटेको छ । यसले सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न चिन्ह उठेको छ ।

जुनसुकै हालतमा पनि सत्ता गठबन्धन तोड्न अग्रसर एमाले अध्यक्ष ओलीले जसपा अध्यक्ष यादवलाई चुनावी सरकारको नेतृत्व यादवलाई दिएर सहकार्यको प्रस्ताव गर्ने सम्भावना उच्च रहेको बालकोट निकट उच्च स्रोतको दाबी छ । जसपा, लोसपा र एमालेको नयाँ गठबन्धन बन्ने सम्भावना खुलेको एकथरी विश्लेषकको मत छ ।

तराई मधेसका २० जिल्लामध्ये एमालेले बाँके बाहेकका जिल्लामा कम्तीमा एक पालिका जितेको छ । बढी निर्वाचन क्षेत्र रहेका झापा, मोरङ, सुनसरी, सिरहा, बारा, पर्सा र नवलपरासी जस्ता जिल्लाहरूमा एमालेको निर्णायक उपस्थिति देखिएको छ । एकातिर सत्ता गठबन्धन निष्प्रभावी बन्दै जानु र एमालेको मधेसमा निर्णायक उपस्थिति हुनुले पनि नयाँ गठबन्धन बन्न लागेको संकेत गरेको छ ।

चुनावमा मधेस प्रदेश सहित प्रदेश १ का मधेसका जिल्लाहरूमा एमालेको अवस्था सुधार भएसँगै नयाँ सिराबाट जसपा अध्यक्ष यादव र एमाले अध्यक्ष ओली सहकार्य गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेसँगै नयाँ सत्ता समीकरण बन्न लागेको र लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सकारात्मक रहेको बुझिएको छ ।