जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा बुधवार सम्पन्न भएको  कार्यपालिका सदस्यको निर्वाचनमा एमाले इमानदार हुँदा कांग्रेसलाई तनाव भएको छ ।

गाउँपालिकामा निर्वाचित ३७ जना पदाधिकारी मध्ये एमालेका १९ जना र कांग्रेस– जसपा गठबन्धनको १८ जना सदस्य छन् ।

कार्यपालिका सदस्यका लागि कांग्रेस–जसपा गठबन्धन र एमालेले उम्मेदवारी दिएका थिए । चुनावमा जित्न कांग्रेस एमालेको भर परेका थिए ।

पालिकाको चुनावमा एमालेलाई सघाएका कांग्रेसले कम्तीमा तीन मत बदर हुने विश्वास गरेका थिए ।एमालेको तीन मत बदर हुँदा कांग्रेस–जसपा गठबन्धन चुनाव जित्ने विश्वास लिएका थिए ।

तर कांग्रेसको विश्वासलाई ध्वस्त बनाउँदै एमालेका सबै सदस्यले इमानदारीपूर्वक मतदान गरेकाले एकलौटी रुपमा ६ जना नै एमालेका निर्वाचित भएका छन् ।

निर्वाचत हुनेहरुमा रिखो देवी मण्डल, कोशिला देवी, श्यामो देवी दास, संगीता साह, कुसुम देवी साह र प्रमोद साह छन् । वडा नम्बर ४ का प्रमोद साह वडा अध्यक्षको चुनाव हारेका थिए । उनलाई कार्यपालिका सदस्य बनाएर बोर्डमा ल्याइएको छ ।

गाउँपालिकाको १५ सदस्यीय बोर्डमा एमालेको ११ जना भएका छन् ।कांग्रेसको अध्यक्ष/उपाध्यक्ष सहित तीन जना र जसपाको एकजना रहेका छन् । बोर्डमा एमालेको भारी बहुमत भएकाले कांग्रेसलाई तनाव भएको छ ।

एमालेतिर जसपा सल्किए बोर्डमा कांग्रेस विरुद्ध तीन तिहाई पुग्नेछ ।दुई तिहाई बढी सदस्य रहेका एमालेले पालिकालाई नियन्त्रणमा लिन सक्ने संभावना व्याप्त छ ।

विकास निर्माणको काममा दलगत भावनालाई त्यागेर सबै एकजुटताका साथ अगाडि बढने गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले जनाए ।

‘पालिकाको समग्र विकासमा सबैले राजनीतिक स्वार्थ भन्दा माथि उठनुपर्छ’ उनले भने, विकासमा राजनीति भए गाउँपालिका पछाडि पर्न सक्छ ।

अध्यक्ष मिश्र तत्कालीन लक्ष्मीपुर बगेबा गाविसका उपाध्यक्ष र अध्यक्ष भएर सञ्चालन गरिसकेका छन् ।