काठमाडौँ –  प्रधानमन्त्री शेरबहादुर देउवाले चार वर्षदेखि संसदमा रोकिएको नागरिकता विधेयकलाई एक दुई दिनमै अघि बढाउने आश्वासन दिएका छन्।

आइतबार नागरिक विधेयक अघि बढाउन माग गर्दै भेट्न गएका जसपाका सांसदहरुसँग प्रधानमन्त्री देउवाले भोलिपर्सी नै विधेयक पास गर्ने आवश्वासन दिएका हुन्।

चार वर्षअघि संसद पुगेको नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर प्रतिनिधिसभामा पुगेको छ।

विशेष गरी जसपाका सांसदहरुले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाउँदा धेरै दुःख पाएको जानकारी प्रधानमन्त्री देउवालाई गराएका थिए।

सांसद प्रदीप यादवले भने, ‘प्रधानमन्त्रीले एक दुई दिनमै संसदबाट विधेयक पारित गराउँछु भन्नुभयो। हामीले जन्मसिद्ध र वैवाहिक अंगिकृत नागरिकताको बारेमा ध्यानाकर्षण गरायौँ। उहाँ सकारात्मक देखिनुभएको छ।’

वैवाहिक अंगिकृत नागरिकताका लागि समय नराख्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाएको सांसद यादवले बताए। ‘हामीले अंगिकृत नागरिकताका लागि समय नराख्न आग्रह गर्‍यौँ। उहाँले हुन्छ समय राखिन्न भन्नुभयो,’ सांसद यादवले भने।