काठमाण्डु  : इन्डियन प्रिमियर लिगका प्रथम अध्यक्ष ललित मोदीले बिहीबार राति मिस युनिभर्स एवं अभिनेत्री सुस्मिता सेनसँगको आफ्नो सम्बन्धलाई औपचारिक रुपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

 

सेनसँगको तस्वीर उनले ट्विटर र इन्स्टाग्राममा पोस्ट गर्दै आफूहरु सम्बन्धमा रहेको खुलासा गरेका हुन्।

५६ वर्षका मोदीले ट्वीटमा सुस्मितालाई आफ्नो ‘बेटर हाफ’ भनेर उल्लेख गरेका छन्। ट्विटमा भनिएको छ, ‘भर्खरै परिवारसँगको माल्दिभ्स र सार्डिनिया भ्रमणपछि लन्डन फर्कियो। मेरो ‘बेटर हाफ’ सुस्मिता सेन- नयाँ जीवनको नयाँ सुरुवात। ‘चन्द्रमा भन्दामाथि।’

उनले अर्को ट्विटमा लेखेका छन्, ‘विवाह गरिएको छैन, त्यो पनि एकदिन हुनेछ, अहिले केवल एक अर्कालाई डेट गर्दै छौं।’सन् २०१० मा पनि मोदी र सेन सम्बन्धमा रहेको चर्चा चलेको थियो।

त्यो समय दुवैजनाले आफ्नो सम्बन्ध मात्र एक हल्ला भएको दाबी गरेका थिए। सुस्मिताले हालसम्म पनि ललित मोदीसँगको सम्बन्धबारे पुष्टि भने गरेकी छैनन्। गत वर्षमात्र उनले आफ्नो इन्स्टाग्राम पोस्टमार्फत आफ्नो र मोडल प्रेमी रोहमनको ब्रेकअपको घोषणा गरेकी थिइन्।

सेन सन् १९९४ को मिस युनिभर्सको विजेता हुन्। उनी मिस युनिभर्स जित्ने पहिलो भारतीय महिलासमेत हुन्। उनले सन् १९९६ मा आएको फिल्म दस्तकबाट बलिउडमा डेब्यू गरेकी थिइन्। छोरीहरू अलिसा र रेनीकी एकल आमा सेन अहिले ४७ वर्षकी भइन्।