जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधान मन्त्री विमलेन्द्र निधिले चुनावको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार धनुषा निर्वाचन क्षेत्र नम्बर तिनको पार्टी कार्यालय उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीमा आवद्ध सबैलाई चुनावको तयारीमा इमान्दारीका साथ लाग्न निर्देश दिए । निर्वाचन आयोगले आगामी चुनाव बारे तयारी गर्न थालिसकेको उनले जानकारी गराए ।

आगामी मंसिर पहिलो साता नै निर्वाचन गर्न आयोग र सरकारको तयारी रहेको उल्लेख गर्दै वडा स्तरबाट तयारी गर्न पार्टीका नेता तथा कार्यकतालाई निर्देशन दिए ।

‘ निर्वाचन आयोग पनि मंसिर पहिलो साता नै चुनाव गराउने गर्ने तयारीमा छ । सरकार पनि सहमति नजिक नै छ,’उनले भने,‘त्यसकारण तयारी शुरु गरिहाल्नुस् । सबै साथीहरु इमान्दारिताका साथ चुनावको तयारीमा लागौं । शनिबार नै चुनाव तयारीको उद्घाटन भयो भनेर बुझ्नुस् ।’ उनले आगामी निर्वाचनमा कडा मेहनत गर्नुपर्ने उल्लेख गरे ।

विगतको स्थानीय निर्वाचन र पार्टीको महाधिवेशनको क्रममा भएको तिक्क्तालाई बिर्सेर चुनावमा होमिन उनले आग्रह गरे । ‘यस्तो कुनै काम नगरौं जसले पार्टी र देशलाई क्षति होस्,’उनले भने,‘ विगत र भविष्यको चिन्ता छाडेर वर्तमान समयमा मेहनत गरौं ।

अव चार महिना मात्रै बाँकी छ ।’ उनले आफ्नै पार्टीका नेताहरुले गरेको कामको मूल्याङ्कन नगरेको सुनाए । ‘नेपाली कांग्रेसकै साथीहरुले मैले गरेको विकासको चर्चा गर्दैनन्,’उनले भने,‘म दावी गरेर भन्छु म जतिको विकास कुनै पार्टीको नेता यस क्षेत्रमा गरेका छैनन् ।