काठमाडौं । नेपालभर साइकलको माध्यम बाट भ्रमण गर्न निस्किएका दोलखा कालिन्चोक गाउँपालिका वडा ३ का अभिनय कार्की आज काठमाडौं पुगेका छन् ।

उनले पर्यटन प्रबर्द्धन र लागू औषध सम्बन्धि जनचेतना फैलाउने उदेश्य सहित गत वर्षको पौष १५ गते दोलखाको सदरमुकाम चरिकोट बाट “फ्रस्ट्रेसन डिप्रेसन र लागू दुर्व्यसनलाई त्यागौ, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरु एकजुट बनौं” भन्ने मुल सन्देशलाई प्रवाह गर्ने तयारीका साथ आफ्नो यात्राको सुरुवात गरेका थिए ।

हालसम्म ७० वटा जिल्लाहरु साइकलको माध्यमबाट पार गरेका कार्की अब भने उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरको भ्रमण गरेर नुवाकोट हुँदै रसुवा जाने र पुन काठमाडौं फर्किएर काभ्रे (काभ्रेपलान्चोक) र सिन्धुपाल्चोक हुँदै आफ्नै गृह जिल्ला दोलखा पुगेर यात्राको समापन गर्न बताएका छन् ।